सोमवार , चैत्र १६, २०८२
काठमाडौं, १६ चैत । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारलाई प्रतिशोधपूर्ण तरिकाले कुनैपनि गतिविधि नगर्न चेतावनी दिनुभएको छ ।
पत्रकारहरू जहिले पनि ‘वाचडग’ को रूपमा रहने उल्लेख गर्दै उहाँले सरकारका क्रियाकलापहरूमाथि महासंघले निगरानी गरिरहेको बताउनुभएको हो । सोमवार महासंघको स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमपछि बोल्द उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम कतैबाट भएमा पत्रकार महासंघ नागरिक अगुवा संस्थाको हिसावले सशक्त रूपमा उभिने स्पष्ट पार्नुभयो । शर्माले नागरिक अगुवा संस्थाहरूको एलायन्स ‘पाफर्ड’ र नेपाल बार एशोसिएशनसँगको सहकार्यमा महासंघ अगाडि बढ्ने पनि जानकारी दिनुभयो ।
कतिपय कानूनहरू बन्ने क्रममा रहेको र कतिपय अवस्थामा संविधानले दिएको अधिकार प्रयोग गर्न नपाउने गरी कानूनहरू आउन लागेकोमा उहाँले चिन्ता व्यक्त गरिन् ।
उहाँले सरकारलाई सरोकारवालासँग छलफल गरेर मात्र कानून ल्याउन आग्रह गर्नुभयो । पत्रकारको श्रम अधिकारको विषयमा महासंघले कुनैपनि हालतमा ‘कम्प्रोमाइज’ नगर्ने उहाँले बताउनु भयो । हाल धेरै मिडिया हाउसहरू आर्थिक रूपमा धराशायी भएको उल्लेख गर्दै उहाँले राज्यले मिडिया क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले निर्वाचित सरकारले संविधान र कानूनसम्मत भन्दा पनि प्रतिशोधपूर्ण तरिकाले कुनै नि गतिविधि नगरोस् भनेर हामी उहाँहरूलाई भन्न चाहन्छौँ । किनभन्दा पत्रकार भनेको जहिले पनि वाचडगको रूपमा रहेको हुन्छ । अहिले कतिपय कानूनहरू बन्ने क्रममा छन् ।
कानून बन्न नसकेका कारणले कतिपय अवस्थामा अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको अधिकार पनि कहिलेकाहीँ प्रयोग गर्न नपाउने अवस्था पनि केही कानूनहरूमा छ । अहिले सामाजिक सञ्जालको प्रयोगले गर्दा मिडिया माथिको विश्वसनीयता गुम्दैछ । जिम्मेवार पत्रकारिताका लागि हामीले लामो लडाई लड्नुपर्नेछ ।’
महासंघले देशभरका पत्रकारहरूलाई एकतावद्ध भएर अगाडि बढ्न आह्वान गर्दै श्रम अधिकारको संरक्षण र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आफ्नो अभियान जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij