२०८२, चैत्र १९ गते

Apr 02 2026 | २०८२, चैत्र १९ गते

आँखादानका लागि युसीयमयस, लुम्बिनी नेत्रालय र नेपाल आँखा बैंकबीच सम्झौता

बिहिवार , चैत्र १९, २०८२

  • 418
    Shares
  • 418
    Shares
  • भैरहवा, १९ चैत । आँखादान सम्बन्धमा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीयमयस), लुम्बिनी नेत्रालय प्रा.लि., भैरहवा र नेपाल आँखा बैंक (तिलगंगा आँखा अस्पताल), काठमाडौंबीच त्रिपक्षीय सम्झौता भएको छ । 

    सम्झौता बमोजिम अब कुनै पनि व्यक्तिले मृत्युपछि आफ्नो स्वेच्छाले आँखाको नानी कोर्निया) दान गर्न चाहेमा त्यो सुविधा युसीयमयस भैरहवामा गर्न सक्नेछन् ।

    ‘आँखादान महादान’ भएकोले यस प्रकारको दानबाट दृष्टिबिहीन व्यक्तिलाई नयाँ जीवन तथा उज्यालो संसार देखाउने एउटा महान कार्य पनि हो । यो कार्य मानिसको मृत्युपछि मात्र गरिने, आँखाको पूरै डल्लो दान नभइ नानी मात्र दान गर्ने प्रक्रिया हो र आँखादान गर्दा अनुहार कुरुप हुँदैन । यस प्रकारको दान जुनसुकै उमेर समुह, लिंग वा रगत समूह मात्र नभइ चश्मा लगाएका, मोतीबिन्दु वा मधुमेह भएका व्यक्तिले पनि आँखा दान गर्न सक्छन् ।  

    सम्झौता अनुरुप आँखादानको सम्पूर्ण प्रक्रियाको व्यवस्थापन, स्वास्थ्यकर्मीलाई शिक्षा, तालिम, प्राविधिक विषय, परामर्श, आवश्यक कागजी प्रक्रिया, जनचेतनामुलक सामग्री सम्बन्धमा लुम्बिनी नेत्रालय प्रा.लि.ले र कोर्नियाको संकलन, परीक्षण, सञ्चय, व्यवस्थापन, गुणस्तर कायम, वितरण तथा आवश्यक तालिमको व्यवस्था नेपाल आँखा बैंकले गर्नेछ ।

    बुधबार भएको सम्झौता कार्यक्रममा युसीयमयसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, मेडिकल सुपरीन्टेण्डेण्ट प्रा.डा.साधन मुखी, लुम्बिनी नेत्रालयका अध्यक्ष सनत कुमार श्रेष्ठ, प्रबन्ध निर्देशक हिरा बहादुर शाह, तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङ्ग, नेपाल आँखा बैंकका मेडिकल डाईरेक्टर डा.लिना बज्राचार्यको उपस्थिति थियो ।