२०८२, चैत्र २० गते

Apr 03 2026 | २०८२, चैत्र २० गते

रूपन्देही सुपर लिग : बुद्ध क्रिकेट क्लब ५ विकेटले विजयी

शुक्रवार , चैत्र २०, २०८२

  • 334
    Shares
  • 334
    Shares
  • भैरहवा, २० चैत । २४ औं संस्करणको रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको बिहीबारको खेलमा बुद्ध क्रिकेट क्लबले सहज जीत हात पारेको छ । उसले शंकरनगर क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै जीत निकालेको हो ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको शंकरनगरले ३० ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ८३ रनको झिनो योगफल बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा बुद्धका नितेश पटेलले ४, अजय त्रिपाठीले २, सुरज गुरुङ, प्रवेज आलम अन्सारी र हरिकेष मुराउले समान १–१ विकेट लिए । शंकरनगरका रुपेश बस्यालले २१ र सुशान्त सुवेदीले १५ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

    जवाफी ब्याटिङ गरेको बुद्धले १४ ओभर १ बलमा ५ विकेट गुमाएर ८५ रन बनाउँदै सहजै जीत हात पार्यो । उसको जीतमा सुरज पौडेलले २२, अमित अग्रहरीले २१ र अनुज चौहानले अविजित १७ रनको योगदान गरे । 

    बलिङमा शंकरनगरका शिशिर लुईंटेलले ३ तथा विपिन भट्टराई र रुपेश बस्यालले १–१ विकेट लिए । खेलमा नितेश पटेल प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । 

    त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसै गरी प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । 

    प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रायोजन गरेका छन् ।

    म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रवि कुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित कुमार गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागीता छ ।