शनिवार , चैत्र २१, २०८२
भैरहवा, २१ चैत । रुपन्देहीको एउटा यस्तो सामूदायिक विद्यालय छ, जहाँ उत्कृष्ट विद्यार्थीहरुले पुरस्कारवापत भैसी पाउने गरेका छन् । जिल्लाको मायादेवी गाउँपालिका–४ बनकसिहास्थित श्री सुण्डी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई भैसी पुरस्कार उपलब्ध गराइँदै आइएको छ ।
दक्षिण कोरियाको दातृ संस्था अम होङ गिल ह्यूमन फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई भैसी पुरस्कार प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक केशव पौडेलले बताउनुभयो । यस वर्ष उत्कृष्ट १० जना विद्यार्थीहरुलाई भैसी प्रदान गरिएको पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयको पुस्तकालयमा भएका हजारौं पुस्तकमध्ये विद्यार्थीलाई पुस्तक छान्न दिइन्छ । छानेको पुस्तक पढेर त्यसको समीक्षा गर्न लगाइन्छ । त्यसपछि विद्यार्थीहरुको मूल्यांकन गरिन्छ ।
छैठौं पुस्तक समीक्षा (प्रतियोगिता) मा पाँचवटा कक्षा समूह बनाएर प्रतिष्पर्धा गराइएको प्रतियोगितामा ५ सय ६५ जना विद्यार्थीहरुको सहभागीता थियो । प्रत्येक समूहबाट ७–७ जनालाई पुरस्कार वितरण गरिएको थियो । जसमा प्रत्येक समूहको पहिलो र दोस्रो हुने विद्यार्थीले भैसी तथा अन्यले नगद पुरस्कार पाएका छन् ।
विद्यालयले आयोजना गरेको छैठौं पुस्तक समीक्षाको पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीहरुलाई भैसी तथा नगद पुरस्कार वितरण गरिएको छ । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बढई लोध, मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरी, गाउँपालिकाको शिक्षा शाखा प्रमुख नारायण प्रसाद लामिछाने, समाजसेवी विशाल चौधरी लगायतले बोल्दै यस्तो पुरस्कारले विद्यार्थीहरुको मनोबल पढ्ने र पढाइप्रति रुची बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
अम होङ गिल ह्यूमन फाउण्डेशनका निर्देशक अम होङ गिलले पुरस्कारवापत सहयोग रकम विद्यालयलाई प्रदान गर्दै आउनुभएको छ । पुरस्कारवापत भैसी पाएका विद्यार्थीहरुको अभिभावकलाई केही भए पनि आयआर्जनमा मद्दत पुग्ने विश्वास लिइएको छ । रुपन्देहीको दक्षिणी भेगका अधिकांश नागरिक कृषि तथा पशुपालन पेशा गर्दै आएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij