आइतवार , चैत्र २२, २०८२
भैरहवा, २२ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित पर्ल सेकेन्डरी बोर्डिङ स्कूलको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार विद्यालयमा आयोजित एक समारोहकाबीच विद्यालयले वार्षिकोत्सव मनाएको हो ।
समारोहको उद्घाटन गर्नुहुँदै शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका इकाइ प्रमुख (उपसचिव) विष्णु प्रसाद पन्थीले आफ्ना बालबालिकाको पढाइमा ख्याल राख्न अभिभावकहरुलाई आग्रह गर्नुभयो । पछिल्लो समय सामाजिक सञ्जाल मनोरञ्जनको माध्यमको रुपमा मात्र प्रयोग गर्ने संस्कृतिको विकास भइरहेको भन्दै उहाँले व्यक्त गर्नुभयो ।
‘लामो समय विद्यार्थीहरु घरमा बस्छन् । त्यो भएको हुनाले घरमा पठन संस्कृतिको विकास गर्नका लागि र बालबालिकालाई पढ्ने वातावरण मिलाइदिनका लागि यहाँहरु (अभिभावक) ले मिहिनेत गरिरहनुभएकै छ । यद्यपि अहिले सामाजिक सञ्जाल र मोबाइलले विद्यार्थीहरुलाई विकृतितिर लैजाने र सामाजिक सञ्जाल र मोबाइललाई पनि सिकाईको माध्यमको रुपमा प्रयोग नगरेर मनोरञ्जनको माध्यमको रुपमा मात्र प्रयोग गर्ने संस्कृतिको विकास भइरहेको छ, ’उहाँले भन्नुभयो । यो विद्यालयले महत्वपूर्ण शैक्षिक उपलब्धीहरु हासिल गरेको पाइएको बताउनुभयो । विद्यार्थीको संख्या पनि राम्रो देखिएको र विद्यालयप्रति अभिभावकको चासो र सक्रियता राम्रो पाइएको उहाँले बताउनुभयो ।
उहाँले शिक्षकको क्षमता तथा पेशागत विकास महत्वपूर्ण पक्ष भएकोले त्यसमा विद्यालयले ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो । जिल्लाको शिक्षाको अभिभावकीय निकाय शिक्षा विकास तथा समन्वय इकाइकोतर्फबाट सहयोग, सहजीकरण र सहकार्य गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
इकाइ प्रमुख पन्थीले पाठ्यक्रमले व्यवस्था गरेको निरन्तर विद्यार्थी मूल्यांकन र आन्तरिक मूल्यांकनमा पनि ध्यान दिन आग्रह गर्नुभयो । २१ औं शताब्दीका विद्यार्थीहरुलाई शिक्षण गर्ने शैक्षिक संस्थाहरुमा काम गर्ने तरिका, सोच र शैलीमा परिवर्तन गर्न पनि आवश्यक रहेको उहाँको भनाइ छ ।
त्यस्तै अभिभावक संघ नेपाल, रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले बालबालिकाको सबैभन्दा पहिलो विद्यालय घर र पहिलो शिक्षक आमा भएको बताउनुभयो । उहाँले अभिभावकले आफ्ना सन्तानलाई राम्रो संस्कार सिकाउँदा र राम्रो बोली व्यवहार गर्दा उनीहरु अब्बल भइ अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिष्पर्धा गर्न योग्य हुने बताउनुभयो । ‘मोबाइलमा कार्टुन देखाएर बालबालिकालाई खाना नखुवाउनुस्, खाना खाइरहेका छन् भन्ने तपाईहरुलाई लाग्ला । तर, बच्चाको ध्यान खानामा नभइ मोबाइलमा हुन्छ, ’उहाँले भन्नुभयो–‘समयमा नै खाना खुवाउनुस् ।’ बालबालिकाको क्षमता पहिचान गर्न र परीक्षामा कम अंक (जीपीए) ल्याएकै आधारमा मूल्यांकन नगर्न उहाँले अभिभावकहरुलाई आग्रह गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल लक्ष्मण ज्ञवालीले २१ औं शताब्दीको शिक्षा प्रविधि बिना अधुरो रहेको बताउनुभयो । उहाँले आगामी वर्षमा विद्यालयलाई थप प्रविधिमैत्री बनाउँदै व्यवसायिक तालिमहरु समावेश गर्ने योजनामा रहेको बताउनुभयो । ज्ञवालीले स्थापनाकालमा सीमित भौतिक स्रोत र साधनका बाबजुद स्थानीय बालबालिकालाई गुणस्तरीय अंग्रेजी माध्यमको शिक्षा दिने उद्देश्यले सुरु भएको यो यात्रा आज यस क्षेत्रकै एक प्रतिष्ठित शैक्षिक केन्द्रको रुपमा स्थापित भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष माया काफ्लेको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यता, शिक्षक अम्बिका घिमिरेको स्वागत तथा रुपा भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुत रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij