२०८२, चैत्र २३ गते

Apr 06 2026 | २०८२, चैत्र २३ गते

रूपन्देही सुपर लिग : स्टार क्रिकेट क्लबको दोस्रो जीत

आइतवार , चैत्र २२, २०८२

  • 265
    Shares
  • 265
    Shares
  • भैरहवा, २२ चैत । भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको खेलमा स्टार क्रिकेट क्लबले लगातार दोस्रो जीत निकालेको छ । दोस्रो जीत निकाल्ने क्रममा स्टारले आइतबार बुटवल युथ क्रिकेट क्लबलाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

    सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको स्टारले ४१ ओभर २ बलमा सबै विकेटको नोक्सानीमा २ सय २१ रनको बलियो योगफल खडा गर्यो । उसका लागि शुभम खनालले ६०, सिद्धार्थ ढकालले ५७, कृष्ण कुंवरले २१, रन्जित मौर्यले १६ र गणेश धितालले १५ रन बनाए । बलिङमा बुटवल युथका अजय चौधरीले ४, हिलसन क्षेत्री र सम्पन्न पाठकले २–२ तथा कृष्ण पटेल र अमृत भण्डारीले १–१ विकेट हात पारे ।

    जवाफमा बुटवल युथले २७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १० रन मात्रै बनायो र फराकिलो अन्तरले हार बेहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा स्टारका फैजन खान र शुभम खनालले २–२ तथा गणेश धिताल, तुलबहादुर थापा, शुभम पाण्डे र सिद्धार्थ ढकालले १–१ विकेट लिए । बुटवल युथका कृष्ण पटेलले २०, सोनु मल्लाहले १७, सन्तोष परियारले १६, हिलसन क्षेत्रीले १२ र प्रदीप पेलाले १० रन बनाए । खेलमा शुभम खनाल प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । 

    त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रायोजन गरेका छन् ।

    त्यस्तै म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रवि कुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित कुमार गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागीता छ ।