२०८३, आश्विन १९ गते

Oct 05 2026 | २०८३, आश्विन १९ गते

घोराहीमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सुरु

बुधवार , चैत्र २५, २०८२

  • 805
    Shares
  • 805
    Shares
  • दाङ, २५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरबाट पर्यटक भित्र्याउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

    प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा दाङको घोराहीमा सुरु भएको मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरूको योगदानले प्रदेशको शिर उँचो बनाएको बताउनुभएको हो । उहाँले खेलकुदले अनुशासन सिकाउने, व्यक्तिलाई आत्मअनुशासित बनाउने र राष्ट्रप्रति बफादार नागरिक तयार पार्ने माध्यम भएको उल्लेख गर्नुभयो ।

    खेलकुदमार्फत युवालाई सही मार्गमा ल्याउन सकिने धारणा उहाँको छ । उहाँले खेलकुदको माध्यमबाट आर्थिक गतिविधि बढ्ने र स्वास्थ्य प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । ‘स्वास्थ्यका निम्ति खेल, राष्ट्रका निम्ति खेलझभन्ने भावनासहित सधैं स्वस्थ, अनुशासित र खुशी जीवनतर्फ अग्रसर हुन उहाँले आग्रह गर्नुभयो । 

    प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा भलिबल प्रतियोगिताको उद्घाटन गरिएको हो ।

    प्रतियोगितामा प्रदेशका प्रत्येक जिल्लाबाट महिला तथा पुरुष टोली सहभागी भएका छन् । प्रत्येक टोलीमा १० जना खेलाडी र एकजना प्रशिक्षक रहने व्यवस्था गरिएको छ । खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार सञ्चालन गरिनेछ भने लिगकम नकआउट प्रणालीमा प्रतिष्पर्धा गराइनेछ ।

    प्रतियोगिताका विजेताले नगद १ लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय हुने टोलीले ६५ हजार, तृतीयले ३५ हजार र सान्त्वना हुने टोलीले १५ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।
    उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ ।

    गत वर्ष पुरुषतर्फ गुल्मी र महिलातर्फ पाल्पा प्रथम भएका थिए । यस वर्ष पुरुष र महिला दुवै प्रतियोगिता एकैसाथ सञ्चालन गरिएको हो । अघिल्लो वर्ष पुरुष प्रतियोगिता अर्घाखाँचीको सन्धिखर्कमा र महिला प्रतियोगिता दाङको घोराहीमा आयोजना गरिएको थियो ।

    उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले शुभकामना व्यक्त गर्नुभएको थियो । प्रदेश खेलकुद परिषदका कोषाध्यक्ष मुक्ति प्रसाद न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।