२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

दिगो फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन गर्न जुटे तिनाउ पश्चिमका वडाहरु

बिहिवार , चैत्र २६, २०८२

  • 322
    Shares
  • 322
    Shares
  • बुटवल, २६ चैत । रुपन्देहीको बुटवलमा फोहोरमैला व्यवस्थापनको समस्या जटिल बन्दै गएपछि वडा तहबाटै दीर्घकालीन समाधान खोज्ने पहल सुरु भएको छ । तिनाउ पश्चिम क्षेत्रका वडाहरूले ल्याण्डफिल्ड साइट निर्माणका लागि उपयुक्त जग्गा खोज्न सक्रिय रूपमा छलफल थालेका छन् । तिनाउ पश्चिमको फोहोर तिनाउ पश्चिमकै वडामा व्यवस्थापन गर्ने लक्ष राखिएको छ । 

    बुटवल उपमहानगरपालिका वडा नम्बर ७ र ८ ले शिवनगर सामुदायिक वन क्षेत्रमा फोहोर प्रशोधनसहितको व्यवस्थापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइसकेका छन् । तर, अन्य वडाबाट संकलित फोहोर भने तिनाउ नदी किनार मजुवामा फालिँदै आएको छ । केही दिनअघि स्थानीयबासीको विरोधका कारण त्यहाँ तनाव उत्पन्न भइ फोहोर संकलन र व्यवस्थापन कार्य अवरुद्ध भएको थियो । पछि उपमहानगरपालिका र स्थानीयबीच सहमति भएपछि पुनः सेवा सुचारु गरिएको छ। 

    यता तिनाउ पश्चिमका वडा नम्बर १२ र १३ ले आफ्नै क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने उद्देश्यसहित ल्याण्डफिल्ड वा डम्पिङ साइट निर्माणका लागि जग्गा खोजी तीव्र पारेका छन् । यस अभियानमा साविक सेमलार गाविस अन्तर्गतका वडा १४, १५ र १६ समेत समावेश हुने सम्भावना रहेको जनाइएको छ । वडा नम्बर १२ तामनगरस्थित कोरियन टेक्निकल इन्ष्टिच्युटको उत्तरतर्फ रहेको चारपाला सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा प्रारम्भिक अध्ययन सुरु गरिएको छ । साथै ढवाहस्थित मिलनपार्कको उत्तरतर्फको वन क्षेत्रमा पनि उपयुक्त जग्गा रहेको दावी गरिएको छ । 

    वडा नम्बर १२ का अध्यक्ष डिल्ली प्रसाद शर्मा आचार्यका अनुसार तिनाउ पश्चिम क्षेत्रमै फोहोर व्यवस्थापन गर्ने स्पष्ट रणनीतिसहित काम अघि बढाइएको हो । ‘जग्गाको खोजी लगभग टुंगोमा पुगेको छ, अब स्थानीय तहमा सहमति जुटाएर प्रक्रिया अगाडि बढाइनेछ, ’उहाँले भन्नुभयो । 

    बुटवलमा दैनिक करिब ५० टन फोहोर उत्पादन हुने गरेको छ । तर, स्थायी व्यवस्थापन केन्द्र नहुँदा वर्षौंदेखि तिनाउ नदी किनारमा फोहोर थुपार्ने गरिएको छ, जसले बेलाबेलामा गम्भीर सहरी समस्या निम्त्याउने गरेको छ । 

    फोहोरको उचित व्यवस्थापन नहुँदा टोल–गल्लीमा दुर्गन्ध फैलिने, विभिन्न रोगको जोखिम बढ्ने तथा कृषि उत्पादनमा समेत असर पर्ने समस्या देखिएको छ । अध्यक्ष आचार्यका अनुसार बजेट, प्रविधि, जनशक्ति र उपयुक्त जग्गाको अभाव प्रमुख चुनौतीका रूपमा रहेका छन् । उहाँले मोतिपुर क्षेत्रका तीन वडाले पनि आफ्नै स्तरमा फोहोर व्यवस्थापन सुरु गरिसकेको जानकारी दिनुभयो ।

    चारपाला वनक्षेत्रको राजपुरदेखि उत्तरतर्फको क्षेत्रमा प्रारम्भिक रूपमा डम्पिङ साइट स्थापना गर्ने अवधारणामा छलफल भइरहेको छ । दीर्घकालीन रूपमा सो क्षेत्रलाई ल्याण्डफिल्ड साइट र अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । 

    चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगत पौडेलका अनुसार वडा नम्बर १२ र १३ का जनप्रतिनिधि, राजनीतिक तथा सामाजिक अगुवाबीच यस विषयमा पटकपटक औपचारिक तथा अनौपचारिक छलफल भइरहेको छ । उहाँले तिनाउ पूर्व र पश्चिमबीचको मनोवैज्ञानिक विभाजनलाई मध्यनजर गर्दै स्थानीय तहमै वैज्ञानिक र प्रविधियुक्त फोहोर व्यवस्थापन प्रणाली विकास गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताउनुभयो ।