२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

रूपन्देही सुपर लिग : सैनामैनाको पहिलो जीत

बिहिवार , चैत्र २६, २०८२

  • 268
    Shares
  • 268
    Shares
  • भैरहवा, २६ चैत । सैनामैना क्रिकेट क्लबले भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपर लिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको खेलमा पहिलोे जीत निकालेको छ । बिहीबारको खेलमा प्रोफेसनल मास्टर्स–११ लाई ७६ रनले पराजित गर्दै उसले जारी प्रतियोगितामा पहिलो जीत हात पारेको हो । 

    सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सैनामैनाले ४८ ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८५ रन बनायो । उसका लागि अप्सन गैरेले ३८, सुनिल पौडेलले २९, गणेश घिमिरेले २६, मनिष क्षेत्रीले २०, निश्चल क्षेत्रीले १९ र किरण भट्टराईले १२ रन बनाए । बलिङमा प्रोफेसनलका करण यादवले ३, सोइब हसन मुसलमान र समिर कंडेलले २–२ तथा मनसन सिंह र निरज मौर्यले १–१ विकेट हात पारे । 

    जवाफी ब्याटिङ गरेको प्रोफेसनलले ३३ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ९ रन मात्रै बनायो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा सैनामैनाका किरण भट्टराई र निश्चल क्षेत्रीले ३–३, सुनिल पौडेलले २ तथा अप्सन गैरे र विक्रम गौतमले १–१ विकेट लिए । 

    प्रोफेसनलका समिर कंडेलले २६, विक्की सुनारले १३, सार्थक धिताल र करण यादवले समान १२–१२ तथा अजय रसाइलीले ११ रन बनाए । खेलमा अप्सन गैरे प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे । 

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । 

    त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसै गरी प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रायोजन गरेका छन् । 

    त्यस्तै म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रवि कुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित कुमार गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागीता छ ।