
शुक्रवार , बैशाख २४, २०७८
भैरहवा, २४ वैशाख ।
भैरहवामा अक्सिजन प्लान्ट स्थापना गर्नेबारे यहाँका युवाहरुले चासो देखाएका छन् । कोरोना संक्रमित विरामीहरुले अस्पतालमा बेड र अक्सिजनको अभावमा ज्यान गुमाइरहेको बेला अक्सिजन प्लान्ट स्थापनाको चर्चा सुरु भएको छ । बेड पाएर पनि अक्सिजनको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने परिस्थिति उत्पन्न भएको छ ।
भीम अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सकिए धेरै कोरोना संक्रमितको ज्यान बचाउन सकिने युवा नेता बैजनाथ गुप्ता (बी.एन.)ले बताए । उनले यो अभियानको लागि एक लाख रुपैयाँ सहयोग गर्ने बताए । अभियानमा सम्पूर्ण समाजसेवीहरुलाई सहयोग गर्न उनले आग्रह गरे । ‘अहिलेको महामारीमा जनताको ज्यान जोगाउनु महत्वपूर्ण हो, जनताको ज्यान जोगाउन सकिए राजनीति गर्दै गरौंला, ‘गुप्ताले भने ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले अक्सिजन प्लान्ट स्थापना गर्ने विषयमा युवाहरुले चासो देखाउने सकारात्मक भएको बताए । उनले स्थानीयवासीको सहयोगमा तत्कालका अक्सिजन प्लान्ट निर्माणको कार्य सुरुवात गर्ने र यसलाई पूर्णता दिन प्रदेश सरकारसंग आफूले पहल गर्ने बताए । ‘अहिलेको अवस्थामा यसको निर्माण कार्य सुरु गर्नुपर्छ, आवश्यक बजेट प्रदेश सरकारमार्फत उपलब्ध गराउन पहल गरिनेछ, ’मन्त्री पाण्डेयले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij