२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

रूपन्देही सुपर लिग : बुद्ध क्रिकेट क्लब ‘ए’ डिभिजनमा

आइतवार , चैत्र २९, २०८२

  • 280
    Shares
  • 280
    Shares
  • भैरहवा, २९ चैत । बुद्ध क्रिकेट क्लब भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगिताको ‘ए’ डिभिजनमा उक्लिएको छ । ‘बी’ डिभिजनको आइतबारको खेलमा साई ग्लोबल क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै बुद्ध ‘ए’ डिभिजनमा बढुवा भएको हो ।

    सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको साई ग्लोबलले २५ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ९० रनको झिनो लक्ष्य खडा गर्यो । उसलाई सस्तैमा रोक्न बुद्धका अनुज चौहानले ७ ओभर ३ बलमा ३ मेडनसहित ११ रन खर्चेर महत्वपूर्ण ६ विकेट हात पारे । 

    त्यस्तै प्रवेज आलमले २ तथा सुरज गुरुङले १ विकेट लिए । साई ग्लोबलका अजय चाईले ३३, बासुदेव यादवले १५ र जितेन्द्र केवटले १० रन बनाए ।

    जवाफी ब्याटिङ गरेको बुद्धले १४ ओभर १ बलमा २ विकेटको नोक्सानीमा ९३ रन बनाउँदै सहजै जीत निकालेर ‘ए’ डिभिजनमा बढुवा भयो । उसको जीतमा सुरज पौडेलले अविजित ५३ र साहिल पटेलले १७ रनको योगदान गरे । बलिङमा साई ग्लोबलका जितेन्द्र केवटले २ विकेट लिए । खेलमा अनुज चौहान प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । 

    त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसै गरी प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रायोजन गरेका छन् ।

    त्यस्तै म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रवि कुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित कुमार गुप्ताले गरेका छन् ।