आइतवार , चैत्र २९, २०८२
रुपन्देही, २९ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा वडास्तरीय कृषि समिति सञ्जालको आयोजनामा सञ्चालन गरिएको पाँचदिने कृषक तालिम शनिबार सम्पन्न भएको छ । तालिम समापनसँगै सहभागी कृषकहरूलाई कृषि सामग्री तथा औजारसमेत वितरण गरिएको छ ।
मडाहा स्वास्थ्य चौकीको सभाहलमा आयोजित कार्यक्रममा ’चैते धान उन्नत प्रविधि खेती’ सम्बन्धी तालिम प्रदान गरिएको थियो । समापन अवसरमा सिँचाइ सामग्रीसहितका कृषि सामग्री वडाअध्यक्ष नारायण ढकाल, सञ्जालका अध्यक्ष रतन भण्डारी तथा तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख एवं प्रशिक्षक दोमालाल भुसाल लगायतका जनप्रतिनिधिहरूले कृषकहरूलाई हस्तान्तरण गर्नुभएको थियो ।
तालिममा वडाभित्रका ४५ जना कृषकहरूलाई तालिम प्रदान गरिएको थियो । कार्यक्रममा वडा सदस्यहरू लिलादेवी छन्तेल, सम्झना परियार, केशवराज भण्डारी, रामप्रसाद कँवर, टोल विकास सञ्जालका अध्यक्ष होमबहादुर छन्तेल, न्यायीक संयोजक लक्ष्मण भट्टराई, व्यवस्थापन समितिका संयोजक संजय रणपाललगायत ओमबहादुर राना, नन्दलाल थारु, सागर पाण्डे, प्रेमप्रसाद न्यौपाने, सन्तराम चौधरी, भुवानन्द पाण्डेलगायत टोल विकास तथा कृषक प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष नारायण ढकालले वडाबाट कृषिको लागि भनेर छुट्टै योजना बनाएर अघि बढिएको र आगामी दिनमा समेत कृषिको लागि केही सहयोग गर्नुपरे आफुलाई खबर गर्न आग्रह गर्नुभयो । त्यसका लागि कृषक समेत जागरुक हुनपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कृषि संजालका अध्यक्ष भण्डारीले कृषिका लागि आधुनिकीकरण र व्यवसायिकीकरण गर्न वडामा सकेजति सबै जस्तो तालिम दिइएको बताउनुभयो । आगामी दिनमा समेत संजालले कृषकको माग अनुसारका तालिम प्रशिक्षण र सामग्री दिन आग्रसर रहेको उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्ने वक्ताहरुले कृषिप्रतिको स्थानीय तहको सहयोग र यस्ता तालिम र कार्यक्रमले किसानमा थप उर्जा मिल्ने बताए । तालिमबाट आधुनिक कृषि प्रविधिबारे ज्ञान हासिल गर्न पाएको र आवश्यक सामग्री तथा औजारसमेत प्राप्त गरेपछि कृषकहरू उत्साहित र खुशी देखिएका थिए ।
संजालले कृषि तालिममा सहभागीहरुलाई नगरपालिकाबाट प्राप्त ५ लाख र वडाबाट प्राप्त २ लाख २९ हजार बराबरको कृषि औजार र सामग्रीसहित किसानलाई वितरण गरेको छ। जसमा स्प्रेयर मेसिन, हाते ट्रयाक्टर, मोटर पम्प, पानी सिंचाई पाईप, बाली सपार्ने कृषि पम्प, किटनाशक औषधिसहितको झोला, रिपर मेसिन लागायत वितरण गरेको छ । तालिममा तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख एवं प्रशिक्षक दोमालाल भुसालले प्रशिक्षण दिनुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij