मंगलवार , बैशाख १, २०८३
पश्चिम नवलपरासी, १ वैशाख । पश्चिम नवलपरासीको बर्दघाटस्थित कुमुदिनी माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर मापदण्ड कायम गर्ने दिशामा उपलब्धि हासिल गरेको छ । विद्यालयले ‘अन्तर्राष्ट्रिय मानकीकरण संस्था’ (आइएसओ) को निश्चित मापदण्डहरू पूरा गरेसँगै आइएसओ लोगो प्राप्त गरेको हो ।
विद्यालय पुगेर आइएसओ प्रतिनिधि सुदिप पौडेलले विद्यालयका अध्यक्ष धीरज शर्मा बस्याल र प्रधानाध्यापक रेश्मीराज बस्याललाई आधिकारिक लोगो हस्तान्तरण गर्नुभयो । आइएसओ प्रमाणपत्र प्राप्तिका लागि कुल ५१ वटा सूचकहरू पूरा गर्नुपर्ने प्रावधान छ । विद्यालयका प्रधानाध्यापक रेश्मीराज बस्यालका अनुसार हालसम्म कुमुदिनीले झन्डै ३० प्रतिशत सूचकहरू पूरा गरिसकेको छ ।
शैक्षिक योजना, शिक्षकको दक्षता, प्रशासनिक चुस्तता, विद्यार्थी मूल्यांकन प्रणाली, भौतिक पूर्वाधार र सुरक्षा व्यवस्था जस्ता आधारभूत मापदण्डहरूमा विद्यालयले उल्लेख्य सुधार गरेपछि यो लोगो प्रदान गरिएको हो । बाँकी रहेका सूचकहरू आगामी ३ वर्षभित्र पूरा गर्ने लक्ष्य रहे पनि विद्यालयले सो समय अगावै सबै प्रक्रिया सम्पन्न गरी पूर्ण प्रमाणपत्र प्राप्त गर्ने संकल्प लिएको छ ।
लोगो हस्तान्तरण समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य विक्रम खनालले निजी क्षेत्र र सरकारबीचको आपसी सहकार्यले मात्रै ठोस उपलब्धी हासिल हुन सक्ने बताउनुभयो । उहाँले सरकारले शैक्षिक सुधारका लागि काम गरिरहेको जिकिर गर्नुभयो । सांसद् खनालले सामूदायिक तथा संस्थागत सबै विद्यालयले सरकारले दिएको निर्देशन अक्षरस पालना गर्नुपर्नेमा जोड जोड दिनुभयो । सस्थागत विद्यालयहरुमा शैक्षिक गुणस्तरीयतामा कमी हुन नहुने गरी शैक्षिक बाताबरण तयार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
लोगो सार्वजनिक गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धीरज शर्मा बस्यालले भन्नुभयो, ’आइएसओ लोगो प्राप्त गर्नु हाम्रो अन्तिम लक्ष्य होइन, बरु अन्तर्राष्ट्रिय गुणस्तरको नयाँ यात्राको सुरुवात हो । यसले हाम्रो शिक्षण–सिकाई र व्यवस्थापन प्रणालीलाई विश्वस्तरीय बनाउन मार्गदर्शन गर्नेछ ।’ उहाँले यस यात्रामा साथ दिने अभिभावक, शिक्षक र कर्मचारीप्रति आभार समेत व्यक्त गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij