२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगरमा १० बेडको आइसोलेशन सेन्टर

शनिवार , बैशाख २५, २०७८

भैरहवा, २५ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले १० बेडको आइसोलेशन सेन्टर भैरहवास्थित सिद्धार्थ बसपार्कमा शनिबारदेखि सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढेको र सो को नियन्त्रण तथा संक्रमितको उपचार प्रभावकारी बनाउन सेन्टर सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि नगरपालिकाले अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको नगरप्रमुख हरि प्रसाद अधिकारीले बताए ।

नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टरले संक्रमितको मनोबल बढाउन तथा मनोपरामर्श दिने काम समेत सञ्चालन गरेको नगर उपप्रमुख उमा काफ्लेले बताइन् ।

कोरोनाको महामारीको समयमा केही भए पनि नगरबासीमा राहत महसुस हुने अपेक्षा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पिताम्बर पाठकले अस्पतालमा जस्तो ल्याब सुविधा आइसोलेशन सेन्टरमा नरहेको स्पष्ट पारे । उनले शनिबार पहिलो दिन २ जना कोरोना संक्रमित बिरामी आइसोलेशन सेन्टरमा राखिएको जानकारी दिए ।