बिहिवार , बैशाख ३, २०८३
भैरहवा, ३ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ (भैरहवा) स्थित रुपन्देही क्याम्पसको क्याम्पस प्रमुखमा मोती लाल सुवेदीलाई नियुक्त गरिएको छ । २०८३ वैशाख १ गतेदेखि लागू हुने गरी सुवेदी क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको हो ।
२०८२ फागुन १५ गतेदेखि विद्यालय तहको शिक्षण सेवाबाट उमेर हदका कारण मावि द्वितीय श्रेणीको गणित विषय शिक्षकबाट उहाँले अवकाश पाउनुभएको थियो । उहाँ भानु माविको पूर्व प्रधानाध्यापक हुनुहुन्छ । उहाँले रुपन्देही क्याम्पसमा प्रात कालिन आंशिक शिक्षकका रुपमा २०५४ असोज ३ गतेदेखि प्राध्यापन गर्दै आउनुभएको थियो । सरकारी सेवाबाट अवकाशसँगै उहाँ क्याम्पसमा पूर्णकालीन उप–प्राध्यापकमा नियुक्त भइ पूर्णकालीन क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो ।
सुवेदीलाई क्याम्पसको प्रशासनिक कार्यकक्षमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद बस्यालको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा नियुक्ति–पत्र प्रदान गरिएको पदस्थापन गरिएको छ ।
उक्त कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख मञ्जु खनालले सम्पूर्ण शिक्षक–कर्मचारीकातर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै क्याम्पसका अध्यक्ष डा. बस्यालले क्याम्पसको श्रीवृद्धिमा सहयोग पुग्ने अपेक्षासहित शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा नवनियुक्त क्याम्पस प्रमुख मोती लाल सुवेदीले आफू जीवनभर सिकारु नै रहेकोले यस कार्यमा पनि सम्बन्धित सबैबाट खासगरी शिक्षक, कर्मचारी र क्याम्पस सञ्चालक समिति एवं पूर्व क्याम्पस प्रमुखहरुबाट मागदर्शनको अपेक्षा राखेको बताउनुभयो ।
वि.सं. २०४८ सालमा डा. राम प्रसाद बस्याल, प्रा.डा.गितु गिरी, प्रा.डा. कपिलदेव लामिछाने, स्वर्गीय धनपति उपाध्याय, स्व. मणिराम भट्टराई, स्व. बालकृष्ण भट्टराई, स्व. शुकदेव गौतम, वरिष्ठ अधिवक्ता कमलराज जोशी, संविधान सभा सदस्य आदित्यनारायण कसौधन, डा. ज्ञानदेव हटुवाल लगायत शिक्षाप्रेमी, सामाजिक व्यक्तिहरुको अग्रसरतामा स्थापना भइ तत्कालीन इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको एउटा कोठाबाट रुपन्देही क्याम्पस सुरु भएको थियो ।
विभिन्न दाताहरुको सहयोगबाट प्राप्त जग्गालाई एकीकृत रुपमा सट्टापट्टा गरी २०५८ सालमा सिद्धार्थनगर नगरपालिका–९ मा सुविधासम्पन्न भवनमा पठनपाठन भइरहेको छ । हाल आईसीटीको प्रयोगसहितका कक्षाकोठा र शिक्षण सिकाइ, कम्प्युटर ल्याब, पुस्तकालय, स्मार्ट बोर्ड, विभिन्न विभागहरु, विद्यार्थीहरुका साथै यु.जि.सी.बाट प्राप्त विभिन्न कार्यक्रम निरन्तर सञ्चालन भइरहेको क्याम्पस प्रमुख सुवेदीले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिइ सामुदायिक क्याम्पसका रुपमा सञ्चालित र यु.जि.सी.बाट प्रथमपटक क्यूएए प्राप्त गरी पुनः दोस्रो चरणको क्यूएए को प्रक्रिया रहेको क्याम्पस प्रशासनले जनाएको छ ।
न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको रुपन्देही क्याम्पसले हाल स्नातक तहमा बी.एड. र बी.बी.एस.को पठनपाठन भइरहेकोमा नयाँ कार्यक्रम बी.बी.ए. र एम.बी.एस.का लागि कार्ययोजना त्रिभुवन विश्वविद्यालयमा माग गरिएको छ ।
क्याम्पसका उत्पादित जनशक्तिहरु शिक्षा, बैंक तथा वित्तीय क्षेत्र र विभिन्न सार्वजनिक पेशा–व्यवसाय तथा संघ–संस्थामा क्रियाशील रही सामाजिक क्षेत्रमा पनि वर्चश्व स्थापित गर्न सफल भएको क्याम्पसले जनाएको छ ।
क्याम्पसलाई समयसापेक्ष व्यवस्थित र स्तरोन्नति गर्दै लैजानका लागि क्याम्पस प्रशासनले योजना ल्याउने र त्यसलाई सञ्चालक समितिले आवश्यक छलफल र विमर्श गरी कार्ययोजना अगाडि बढाउँदै आएको छ । जसका कारण एउटा सामूदायिक क्याम्पसप्रति आम समुदायको आकर्षण र अपनत्व बढिरहेको छ ।
कसैको व्यक्तिगत लगानी र मुनाफा बाँडफाँडको अवस्था नभएकोले धेरै दाताहरुबाट छात्रवृत्ति स्थापना गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने कार्यहरु भइरहेको र यु.जि.सीबाट पनि विभिन्न शिर्षकहरुबाट सहयोग प्राप्त भइरहेको क्याम्पसले जनाएको छ ।
रुपन्देही क्याम्पस धेरै विद्यार्थी र अभिभावकहरुको रोजाइमा परेको क्याम्पस प्रशासनको भनाइ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij