२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

भैरहवामा १२ करोडको पाँचतल्ले भवनबाट हाटबजार सुरु

बिहिवार , बैशाख ३, २०८३

  • 598
    Shares
  • 598
    Shares
  • भैरहवा, ३ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडकमा लाग्दै आएको हाटबजार सामुदायिक कृषि बजार पूर्वाधार भवनको ‘ए’ ब्लक सुचारु गरेको छ ।

    यसअघि साप्ताहिक रुपमा प्रत्येक आइतवार र बिहीबार हाटबजार तथा सडक फुटपाथमा तरकारी तथा कृषिजन्य सामग्री विक्री गर्दै आएका व्यवसायीले नयाँ भवनबाट व्यापार सुरु गरेका छन् ।

    १२ करोड रुपैयाँको लागतमा निर्माणसम्पन्न भएको पाँचतल्ले भवनमा अहिले झण्डै ३५० देखि ४ सय जना व्यवसायीले साप्ताहिक रुपमा लाग्ने पसल सुरु गरेका छन् । निर्माणसम्पन्न भए पनि केही वर्षसम्म भने यो भवन प्रयोगबिहीन अवस्थामा थियो । 

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सामुदायिक कृषि बजार पूर्वाधार भवनको ए ब्लकबाट कृषिजन्य सामग्रीको बिहीबारदेखि विक्रीवितरण शुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार केही समयका लागि नगरपालिकाले व्यवसायीबाट भाडा नल्याउने गरी सुचारु गरेको छ ।

    hat .JPG

    नयाँ भवनबाट व्यवसाय सुचारु भएपछि व्यवसायीमा उत्साह छाएको छ । छिटपुट समस्या समाधानका लागि पालिकालाई व्यवसायीले आग्रह गरेको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला) ले बताउनुभयो । 

    यसपछि सिद्धार्थनगर नगरपालिकाभित्र कहीकतै पनि फुटपाथमा बसेर व्यापार गर्न नपाउने नगरपालिकाले जनाएको छ । आइतबार र बिहीबार हाटबजारकोमा रुपमा सञ्चालन गर्ने र अन्य दिनमा पनि पसल सुचारु गर्नका लागि नगरपालिकाले आवश्यक गृहकार्य गरिरहेको जनाएको छ ।