शुक्रवार , बैशाख ४, २०८३
भैरहवा, ४ वैशाख । शनिबार भारत–नेपाल पत्रकार मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल र भारतका सञ्चारकर्मीबीच आपसी सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक प्रेस क्लब अफ महाराजगंजले जनाएको छ
लुम्बिनी प्रेस क्लब, रुपन्देही र भारतको नौतनवामा रहेको प्रेस क्लब अफ महाराजगंजबीच मैत्रीपूर्ण क्रिकेट प्रतिष्पर्धा हुन लागेको हो ।
शुक्रबार प्रेस क्लब अफ महाराजगंजले नौतनवामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा शनिबार बिहान ८ बजेदेखि भारतको नौतनवास्थित नौतनवा इन्टरकलेजमा क्रिकेट हुने जानकारी गराइएको थियो ।
प्रेस क्लब अफ महाराजगंजका अध्यक्ष अमित त्रिपाठीले लामो समयदेखि दुवै मुलुकका प्रेस क्लबबीच रहेको सुमधुर सम्बन्ध थप मजबुत तुल्याउन खेल आयोजना गरिएको बताउनुभयो । उहाँले खेलकुदका माध्यमबाट दुई मुलुकका पत्रकारबीच भाइचारा बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यस वर्ष आयोजना गरिएको प्रतियोगिता तेस्रो संस्करण हो ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले दुई मुलुकका सञ्चारकर्मीबीचको सहकार्य र मित्रताका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको थियो । खेल अवलोकनका लागि महाराजगञ्जका जिल्ला अधिकारीसँगै उच्चपदस्थ व्यक्तिको सहभागीता रहनेछ । दुई मुलुकका पत्रकारबीच सम्बन्धलाई खेलमार्फत नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ यो मैत्रीपूर्ण श्रृखंला विगतदेखि आयोजना हुँदै आएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij