२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

महामारीको संवेदनशिल घडीमा सामूहिक प्रयत्नका साथ सामना गर्नुपर्छ : पूर्वमन्त्री बराल

शनिवार , बैशाख २५, २०७८

बुटवल, २५ वैशाख । 
लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ ले लुम्बिनी प्रदेशमा पारेको प्रभावले आफू निकै गम्भिर र चिन्तित बनाएकोे बताएका छन् । उनले जनसमुदायको जीवनसंग प्रत्यक्ष जोडिएको महामारीको संवेदनशिल घडीमा राजनीतिक मत भिन्नतालाई बिर्सेर सामूहिक प्रयत्नका साथ सामना गर्न सबै राजनीतिक दल, सरकार, नागरिक समाज र जनसमुदायमा अपिल समेत गरेको छन । 

लुम्बिनी प्रदेशसभा सदस्य बरालले एक अपिल जारी गदै कोभिड संकट गहिरिदै जाँदा प्रदेशमा स्वास्थ्य संकटकाल घोषणा गरी नीतिगत स्पष्टता ल्याउन सरकारलाई सुझाव समेत दिएका छन । ‘महामारीको समाधानको लागि गर्नुपर्ने खरीद, निर्माण लगायतका काममा पारदर्शिता अपनाउँदै तत्काल सम्बोधनको लागि आवश्यक पर्ने कानूनी, नीतिगत र बजेटको समस्या समाधानको लागि प्रदेश सरकारकोतर्फबाट प्रदेश स्वास्थ्य संकटकाल घोषणा गरी नीतिगत स्पष्टता ल्याइयोस् ।’ जारी अपिलमा उल्लेख छ ।

संक्रमित बिरामीको उपचारको लागि स्वास्थ्यकर्मीको अभाव रहेकाले तत्काल जनशक्ति थप गर्न र कोभिड महामारीविरुद्ध खटिएका सबै तहका फ्रण्टलाइनर स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता वा अन्य यस्तै प्रकारका कार्यक्रम घोषणा गरी स्वास्थ्यकर्मीको मनोबल बढाउने प्रदेश सरकारको ध्याकर्षण गरिएको छ ।

सबै सरकारी अस्पतालमा कोभिडविरुद्धको सेवा विस्तारको लागि यस अघि बिनियोजित बजेट खर्च भए/नभएको स्थलगत अनुगमन गरी प्राविधिक कठिनाई भए (लेखा कर्मचारी, खरीद जटिलता आदि) तथा जनशक्ति व्यवस्थापन समस्या, समन्वयको अभाव, नेतृत्व र जिम्मेवारी आदि स्पष्ट पार्दै तत्काल उचित व्यवस्थापन गर्न केही मेडिकल कलेज वा ठूला निजी अस्पताललाई आवश्यक मात्रामा कोभिड अस्पतालमा रुपान्तरण गर्न समेत पुर्व मन्त्री वरालले सुझाव दिएका छन ।
स्वास्थ्य क्षेत्रमा कार्यरत सबै गैरसरकारी संघ, संस्था र नागरिक समाजलाई एकिकृत योजना अन्तरर्गत जनचेतना, कन्ट्याक्ट

ट्रेसिङ्ग, आइसोलेशन, एम्बुलेन्स, अक्सिजन आदि व्यवस्थापन गर्न तथा स्थानीय सरकार, स्थानीय प्रशासन र प्रदेश स्वास्थ्य मन्त्रालय बीचमा उचित सम्पर्क संयन्त्र निर्माण गरी गम्भिर प्रकृतिका बिरामीलाई मात्र तत्काल अस्पताल ल्याउने र सेल्फ वा होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई निरन्तर हेरचाह तथा परामर्श गर्ने तथा प्रदेशभित्र र बाहिरका अस्पतालको चुस्त रेफरल सिस्टम निर्माण गर्न, स्थानीय तहमा पर्याप्त मात्रामा स्वास्थ्यकर्मी सहितको आइसोलेशन सेन्टर विस्तार गर्न उनले जोड दिएका छन । अपिलमा अस्पतालबाटै कोभिडको थप संक्रमण हुन नदिन अस्पतालहरुको निरन्तर डिस्इन्फेक्सन गर्ने, शवको तत्काल व्यवस्थापन गर्न व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

पूर्वमन्त्री बरालले संकटको यस घडीमा दृढतापुर्वक खटिरहेका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पुनः सम्मान प्रकट गरेका छन् । उनले स्वास्थ्यकर्मी निरन्तर खटिरहने भन्ने विश्वास समेत व्यक्त गरेका छन । आफनो तर्फबाट आवश्यक र सम्भव सबै योगदान गर्न निरन्तर प्रयन्तशील रहने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । कोभिडबाट प्रभावित सबै संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दे उनले सबै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र आफन्तजनमा समवेदना व्यक्त गरेका छन ।