
आइतवार , बैशाख २६, २०७८
भैरहवा, २६ वैशाख ।
होटल न्यू सिद्धार्थ एण्ड लजका सञ्चालक अनिल कुमार ज्ञवालीले आफ्नो होटललाई आइसोलेशन सेन्टर बनाउन तयार भएको बताएका छन् । सिद्धार्थनगर नगरपालिका–३ स्थित आँखा अस्पताल नजिकै रहेको होटललाई आइसोलेशनका सेन्टर बनाउन आफूले दिने ज्ञवालीको भनाइ छ ।
कोरोना महामारीको विषम परिस्थितिमा सम्बन्धित निकायले अक्सिजन र प्राविधिकको व्यवस्था गरी आइसोलेशन बनाउने अवस्था भए आफूले निःशुल्क रुपमा होटल उपलब्ध गराउने उनले बताए । ‘अहिलेको परिस्थितिमा अस्पतालमा अधिकांश कोरोना संक्रमित बिरामीले बेड तथा अक्सिजन पाउन सक्ने अवस्था छैन, मानिसको ज्यान बचाउने कुरालाई प्राथमिकता दिनुपर्छ, यही सोचको साथ मैले होटललाई आइसोलेशन सेन्टर बनाउनका लागि दिने भनेको छु, ‘ज्ञवालीले भने ।
करिब १० करोडको लगानीमा सञ्चालित ५ तल्ले २० वटा कोठा भएको होटल सिद्धार्थमा ८ जनाले रोजगारी पाएको उनको भनाइ छ । होटलमा ५० बेडको आइसोलेशन सेन्टर बनाउन सकिने उनले बताए ।
विगत १० वर्षदेखि भैरहवामा होटल व्यवसाय सञ्चालन गर्दै आएका ज्ञवाली उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष, उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड भैरहवाका अध्यक्ष लगायत विभिन्न संघ–संस्थामा आबद्ध छन् ।
कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएको परिस्थितिमा व्यवसायी ज्ञवालीले आफ्नो होटल न्यू सिद्धार्थलाई आइसोलेशन सेन्टर बनाउनेतर्फ चासो राख्नु प्रशंसनीय भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका कानूनी सल्लाहकार प्रख्यात बन्जाडेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij