२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

खुकुरी टी–२० कप सुरु, एमएसएमटी र भरतपुरको विजयी सुरुवात

मंगलवार , बैशाख ८, २०८३

  • 409
    Shares
  • 409
    Shares
  • भैरहवा, ८ वैशाख । नेपाल–भारतका क्रिकेट टीमहरुको सहभागीतामा रुपन्देहीको भैरहवामा ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो ।

    मंगलबार भएको दुई खेलमा एमएसएमटी सीए नौतनवा र भरतपुर क्रिकेट एकेडीमी विजयी भएका छन् ।एमएसएमटीले बुद्ध क्रिकेट क्लबलाई ७ विकेट र भरतपुरले बुटवल ११ लाई १ सय ३० रनले पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।

    सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको बुद्धले ८ विकेट गुएमार १ सय २९ रन बनायो । उसका लागि सुरज पौडेल ३९, अजय शाहीले ३५ र मिथलेश यादवले २५ रन बनाए । बलिङमा हिमान्सु सिंहले ३, सेहबाज शेषले २, आदित्य कौसिफ र मोहम्मद जैदले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको एमएसएमटीले १४ ओभर ५ बलमा ३ विकेट गुमाएर १ सय ३५ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा सक्षम शर्माले ४९, पिन्टु यादवले अविजित २७ र आर्यन अग्रहरीले २३ रन बनाए । बलिङमा बुद्धका हरिकेष मुराउ, अजय त्रिपाठी र मन्जुश्री यादवले १–१ विकेट लिए । खेलमा हिमान्सु सिंह प्लेयर अफ द म्याच भए ।

    त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको भरतपुरले ४ विकेट गुमाएर २ सय ६३ रनको उच्च योगफल बनायो । उसका लागि गौरव विकले १०० र रोशन झाले ६६ रनको योगदान गरे । बलिङमा सुधन श्रेष्ठ र युवराज सेनले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको बुटवल ११ ले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३३ रन मात्रै बनायो । उसका लागि प्रवेश सारुले ३५ र युवराज सेनले ३३ रन बनाए । अपराजित पौडेलले ४, कमल थापाले ३, सुदीप अर्याल, दीपेश श्रेष्ठ र मनिष पुनले १–१ विकेट लिए । खेलमा गौरव विक म्यान अफ द म्याच भए । 

    प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टीमको सहभागीता छ । यही वैशाख १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नन्दन श्रेष्ठले बताए । 

    साथै, म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार ५ सय प्रदान गरिनेछ ।

    यसअघि प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, संघका पूर्वअध्यक्ष प्रशान्त विक्रम मल्ल, सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेल, आयोजक संस्थाका अध्यक्ष महेश थापा लगायतले बोल्दै यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुर्याउने जनाए ।