२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

खुकुरी टी–२० कप : होराइजन र लुम्बिनी खुकुरीको सहज जीत

शुक्रवार , बैशाख ११, २०८३

  • 217
    Shares
  • 217
    Shares
  • भैरहवा, ११ वैशाख । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जीत निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जीत निकाल्यो ।

    सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ विकेट गुमाएर २ सय ४८ रनको उच्च योगफल खडा गर्यो । जसमा ड्रस सुनारले ६६, अमर मिश्राले ५३, दिलसाद अलीले ३१ र आरिफ खानले १६ रन बनाए । डिभाइनका सुधीर श्रेष्ठले ३, नेलसन सुवेदी, रलेश चौरसिया, बालकुमार यादव, धुरेन्द्र पटेल र सुरज कलवारले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको भिाइन १३ ओभर ४ बलमा अलआउट हुँदै जम्मा ३९ रन मात्रै बनायो । उसका लागि बालकुमार यादवले १० रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा होराइजनका सिव्रिन श्रेष्ठले ५, अलिसन अधिकारी, विप्रसन केसी, प्रिन्स पाल, तुलबहादुर थापा र महेश भरले समान १–१ विकेट हात पारे । खेलमा सिव्रिन श्रेष्ठ प्लेयर अफ द म्याच भए ।

    दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय २७ रन जोड्यो । जसमा निश्चल चौधरीले ३६, दुर्गेश गुप्ताले २०, सिभान्स कपुरले १६ र सरिक अली मुसलमानले १५ रन बनाए । सैनामैनाका यदु यादव र विशाल भुसालले ३–३, अनमोल श्रीले २ तथा कृष्ण पन्थी र सुशान्त क्षेत्रीले १–१ विकेट लिए ।
    प्रतिउत्तरमा सैनामैना १३ ओभर ५ बलमा सबै विकेट गुमाएर ७५ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न खुकुरीका उत्कर्ष यादव र बैतुल्लाह खानले ३–३, अजयकुमार चौहानले २ तथा प्रशान्त श्रीवास्तव र सिभान्स कपुरले १–१ विकेट लिए । 

    सैनामैनाका अनमोल श्रीसले २२, विशाल भुसालले १९ र राज खनालले १० रन बनाए । खेलमा बैतुल्लाह खान प्लेयर अफ द म्याच भए ।

    लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा जारी प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टीमको सहभागीता छ । यही बैशाख १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नन्दन श्रेष्ठले बताए । 

    साथै म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार ५ सय प्रदान गरिनेछ ।