
मंगलवार , भाद्र २, २०७७
नवलपरासी ,२ भाद्र । नेपाली काङग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवासचन्द्र गिरीको निधन भएको छ । गिरीको उपचारको क्रममा मङ्गलबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।
शुरुमा उनी मेडिकल कलेज भैरहवामा पित्त थैलीमा रहेको स्टोन (पथ्थरी)को अपरेशन गराउन अस्पताल भर्ना भएका थिए । भर्ना पछि अपरेशन गरिएको र केहि दिन अस्पतालमै रहेका उनको कोरोना परीक्षण गरिएको थियो । परिक्षण पश्चात उनको रिपोर्ट पोजिटिभ देखिएको थियो । कोरोनाको रिपोर्ट पोजेटिभ र कोरोनासङ्ग मिल्दोजुल्दो लक्षण देखिएको र श्वासप्रश्वासमा समेत केही समस्या देखिएपछि उनलाई लगत्तै बुटवलको कोरोना अस्पतालमा रिफर गरिएको थियो ।
निमोनियाको लक्षणसमेत देखिएका बिरामीको अवस्था कोरोना अस्पतालमा समेत सुधार हुने नदेखिएपछि उनलाई गत साउन ३० गते ललितपुरको पाटन अस्पतालमा थप उपचारको लागि पु¥याइएको थियो ।
नेपाली काङग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद देबेन्द्रराज कंडेलका अनुसार उपचारकै क्रममा गिरीको निधन भएको बताए । उनका अनुसार आइतबार राति देखि उनको स्वास्थ्यमा एक्कासी समस्या बढेपछि सोमवार दिउसोबाट भेन्टिलेटरको सहायतामा उपचार अघि बढाइएको मंगलबार बिहान ६ बजे तिर निधन भएको हो । गिरीको मुटुले एक्कासि काम गर्न छाडेपछि बिहान निधन भएको अस्पतालले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij