२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

खुकुरी टी–२० कप : लुम्बिनी खुकुरी र भरतपुर सेमीफाइनलमा

शनिवार , बैशाख १२, २०८३

  • 202
    Shares
  • 202
    Shares
  • भैरहवा, १२ वैशाख । रुपन्देहीको भैरहवामा जारी ‘खुकुरी टी–२० कप–२०८३’ अन्तर्गत शनिबारको खेलमा विजयी हुँदै लुम्बिनी खुकुरी क्लब र भरतपुर क्रिकेट एकेडेमी सेमीफाइनलमा पुग्न सफल भएका छन् । खुकुरीले एमएसएमटी सीए एकेडेमी नौतनवालाई १५ रनले पराजित गर्दा भरतपुरले नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमीमाथि ७ विकेटको सानदार जीत निकाल्दै सेमिफाइनल पुगेको हो ।

    सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनायो । जसमा शिभान्स कपुरले ९४, प्रशान्त श्रीवास्तवले २९ र सन्दीप रजालीले १३ रन जोडे । एमएसएमटीका नितिन त्रिपाठीले ३, राज गौड र मोहम्मद जैदले २–२ तथा प्रिन्स साहनीले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको एमएसएमटी १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४८ रन बनायो । उसका लागि शिवम सिंहले ४३, आर्यन अग्रहरीले २९, नितिन त्रिपाठीले १८, सक्षम शर्माले १६ र प्रिन्स साहनीले ११ रन बनाए । खुकुरीका अजय कुमार चौहानले ३, अकलेश यादव र बैतुल्लाह खानले २–२ तथा प्रशान्त श्रीवास्तवले १ विकेट लिए । खेलमा शिभान्स कपुर प्लेयर अफ द म्याच भए ।

    त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपथ्यले ९ विकेट गुमाएर १ सय १७ रन बनायो । उसका लागि लक्ष्मण कुमालले ३४, अमन बोहराले २१, जय गोदारले २०, आशुतोष पाण्डेले ११ र रोशन घिमिरेले १० रन बनाए । भरतपुरका दीपेश श्रेष्ठ, सुदीप अर्याल र कमल परियारले २–२ तथा अपराजित पौडेलले १ विकेट हात पारे ।

    प्रतिउत्तरमा भरतपुरले १३ ओभर १ बलमा ३ विकेट गुमाएर १ सय १८ रन बनाउँदै सहजै जीत हात पार्यो । उसको जितमा गौरव विकले ४९, प्रतीक श्रेष्ठले नटआउट ३३ र दीपेश श्रेष्ठले अविजित १५ रनको योगदान गरे । नेपथ्यका सागर भण्डारी, कृष्ण भुसाल र आशुतोष पाण्डेले समान १–१ विकेट लिए । खेलमा दीपेश श्रेष्ठ प्लेयर अफ द म्याच भए।

    लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा जारी प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टीमको सहभागिता छ । यही बैशाख १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नन्दन श्रेष्ठले बताए ।

    साथै म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार ५ सय प्रदान गरिनेछ ।