सोमवार , बैशाख १४, २०८३
भैरहवा, १४ वैशाख । लुम्बिनी खुकुरी क्लब र तिरुपति क्रिकेट क्लब रुपन्देहीको भैरहवामा जारी ‘खुकुरी टी–२० कप–२०८३’ को उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगिताको सोमबार सम्पन्न पहिलो सेमीफाइनलमा खुकुरीले भरतपुर क्रिकेट एकेडेमीलाई १९ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । त्यस्तै दोस्रो सेमिफाइनलमा तिरुपतिले न्यू होराइजन स्पोटर्स क्लबलाई ८ विकेटले हराउँदै फाइनल पुगेको हो ।
सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले ९ विकेट गुमाएर १ सय ३६ रन बनायो । उसका लागि शिभान्स कपुरले ३८, सन्दीप रजालीले २७, अर्मन खानले २३, प्रशान्त श्रीवास्तवले १७, निश्चल चौधरीले १२ र अकलेश यादवले ११ रन बनाए । भरतपुरका दीपेश श्रेष्ठ, अपराजित पौडेल र कमल परियारले समान २–२ तथा गौतम केसीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको भरतपुरले १९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय १७ रन मात्रै बनायो र हार व्यहोर्यो । जसमा अपराजित पौडेलले २१, गौतम केसीले १९, रोशन झाले १८ र प्रतीक श्रेष्ठले १७ रन बनाए । खुकुरीका बैतुल्लाह खानले ३, अजय चौहान र दुर्गेश गुप्ताले २–२ तथा अकलेश यादव, प्रशान्त श्रीवास्तव र अनुराग यादवले १–१ विकेट लिए । खेलमा बैतुल्लाह खान प्लेयर अफ द म्याच भए ।
दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ९९ रनको झिनो योगफल बनायो । उसका लागि ड्रस सुनारले २४, सिव्रिन श्रेष्ठले २०, दिलसाद अलीले १७, अमर मिश्राले १४ र आरिफ खानले १० रन बनाए । तिरुपतिका सार्दुल त्रिपाठीले ४, रमेश कुर्मीले ३, नरेन साउदले २ तथा तुलबहादुर थापाले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिरुपतिले ९ ओभर ४ बलमा २ विकेट गुमाएर १०० रन बनाउँदै सहजै जित निकाल्यो । उसको जीतमा आकाश त्रिपाठीले ४१, इमरान शेखले २६, सार्दुल त्रिपाठीले अविजित १५ र विजय प्रजापतीले नटआउट ११ रनको योगदान गरे । न्यू होराइजनका प्रिन्स पाल र विप्रसन केसीले १–१ विकेट लिए । खेलमा सार्दुल त्रिपाठी प्लेयर अफ द म्याच भए ।
लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
साथै म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार ५ सय प्रदान गरिनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
