२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

ह्वाइट हाउसमा गोली प्रहार गर्ने व्यक्तिमाथि ट्रम्पको हत्या प्रयासको अभियोग

बुधवार , बैशाख १६, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • काठमाडौं, १६ बैशाख । ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसनको रात्रिभोजका क्रममा शनिवार राति गोली प्रहार गर्ने संदिग्ध व्यक्तिमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको औपचारिक अभियोग लगाइएको छ ।

    अमेरिकी कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले ३१ वर्षीय कोल थोमस एलेनविरुद्ध तीनवटा गम्भीर संघीय अभियोग दर्ता गरिएको जानकारी दिनुभयो । एलेनमाथि राष्ट्रपतिको हत्या प्रयास, अपराध गर्ने उद्देश्यले अन्तरराज्यीय हतियार ढुवानी र हिंसात्मक कार्यका क्रममा बन्दुक प्रहार गरेको आरोप लगाइएको छ ।

    अनुसन्धानकाअनुसार क्यालिफोर्निया निवासी एलेन रेलमार्फत लस एन्जलसबाट सिकागो हुँदै अप्रिल २४ मा वासिङ्टन डिसी पुगेका थिए । उनी हतियारसहित वासिङ्टन हिल्टन होटलमा बसेका थिए, जहाँ शनिवार राति विशेष रात्रिभोजको आयोजना गरिएको थियो ।

    घटनाको विवरण दिँदै ब्लान्चले बताएअनुसार राति करिव ८ः४० बजे एलेन होटलको टेरेस लेभलमा रहेको सुरक्षा जाँच केन्द्रमा हतियारसहित प्रवेश गर्ने प्रयास गरेका थिए । उनले सुरक्षा घेरा तोड्न खोज्दा सुरक्षाकर्मीसँग दोहोरो गोली हानाहान भएको थियो। सो क्रममा अमेरिकी सेक्रेट सर्भिसका एक अधिकारी घाइते भएका छन् । 

    एलेनको साथबाट १२–गेज पम्प–एक्सन शटगन, .३८ क्यालिबरको पिस्तोल, तीनवटा चक्कु र अन्य खतरनाक सामग्री बरामद गरिएको छ । घटनाअघि उनले आफ्ना आफन्तहरूलाई पठाएको इमेलमा ट्रम्प प्रशासनका उच्च पदस्थ अधिकारीहरूलाई निशाना बनाउने उल्लेख गरेको पाइएको छ । 

    गोली चल्न थालेपछि राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प, उपराष्ट्रपति जेडी भेन्स र मन्त्रीमण्डलका सदस्यहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो । प्रत्यक्ष प्रसारणमा देखिएअनुसार घटनाको समयमा सहभागीहरू टेबलमुनि लुकेर ज्यान जोगाउन खोजिरहेका थिए ।

    अमेरिकामा पछिल्ला वर्षहरूमा राजनीतिक हिंसाका घटनाहरू बढ्दै गएका छन् । राष्ट्रपति ट्रम्पमाथि यसअघि पनि पटक–पटक हत्याको प्रयास र ज्यान मार्ने धम्कीहरू आउने गरेका छन्। यसअघि सन् २०२४ जुलाईमा पेन्सिलभेनियाको बटलरमा चुनावी सभाका क्रममा उनीमाथि घातक आक्रमण भएको थियो । 

    हाल यस घटनाको थप अनुसन्धान भइरहेको र सुरक्षा निकायहरूले यसलाई गम्भीरतापूर्वक लिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।