२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

मध्यपूर्वको तनावले टर्कीका किसान मर्कामा

बिहिवार , बैशाख १७, २०८३

  • 181
    Shares
  • 181
    Shares
  • काठमाडौं, १७ बैशाख । मध्यपूर्वमा बढ्दो राजनीतिक तथा सैन्य तनावका कारण टर्कीको कृषि क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ ।

    टर्कीको राजधानी अंकारा नजिकैको हायमाना क्षेत्रका किसानले विश्वव्यापी ऊर्जा र मल आपूर्तिमा आएको अवरोधका कारण उत्पादन लागतमा उल्लेख्य वृद्धि भएको बताएका छन् ।

    विशेष गरी संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वले विश्व बजारमा पेट्रोलियम पदार्थ र रासायनिक मलको आपूर्ति शृङ्खला प्रभावित पारेको छ । यसको प्रत्यक्ष असर टर्कीका विशाल गहुँ खेती र पशुपालन व्यवसायमा परेको छ । हायमानाका २७ वर्षीय युवा किसान तुर्कर तोपालका अनुसार इन्धनको मूल्यमा भएको अनपेक्षित वृद्धिले दैनिक कृषि कार्य निकै खर्चिलो बनाएको छ । 

    टर्कीको कृषि क्षेत्र मुख्यतया आयातित ऊर्जामा निर्भर छ । ट्याक्टर सञ्चालनका लागि डिजेल र नाइट्रोजनयुक्त मल (युरिया) उत्पादनका लागि आवश्यक प्राकृतिक ग्यासको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेपछि किसानहरू दबाबमा परेका हुन् । विश्वकै महत्वपूर्ण ऊर्जा व्यापार मार्ग मानिने ‘स्ट्रेट अफ हर्मुज’ मा देखिएको अवरोधले ढुवानीमा समस्या पैदा गरेको छ । यसले गर्दा युरिया मल जस्ता अत्यावश्यक कृषि सामग्रीको अभाव र मूल्यवृद्धि भएको छ । 

    हायमाना कृषि चेम्बरका उप–प्रमुख एर्कुट कुबातले द्वन्द्व शुरु भएयता डिजेल, मल र अन्य कृषि सामग्रीको मूल्य २० प्रतिशतभन्दा बढीले वृद्धि भएको जानकारी दिनुभयो । 

    बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै टर्की सरकारले डिजेलको करमा कटौती गर्ने जस्ता केही राहत प्याकेजहरू घोषणा गरेको छ । यद्यपि, विज्ञहरूका अनुसार यो समस्या केवल टर्कीको मात्र नभई एक विश्वव्यापी संकटका रूपमा देखा परेको छ, जसले खाद्य सुरक्षामा समेत चुनौती थप्नसक्ने देखिएको छ ।