बिहिवार , बैशाख १७, २०८३
काठमाडौं, १७ बैशाख । विश्व बजारमा ऊर्जाको मूल्यमा भएको वृद्धिका कारण मुद्रास्फीतिमा चाप परेको उल्लेख गर्दै अमेरिकी केन्द्रिय बैंक ‘फेडरल रिजर्भ’ ले ब्याजदरलाई यथावत राख्ने निर्णय गरेको छ ।
बुधवार सम्पन्न फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) को बैठकले संघीय कोषको ब्याजदर (फेडरल फण्ड्स रेट) ३.५ देखि ३.७५ प्रतिशतकै सीमामा कायम राख्ने निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा हालैका आर्थिक सूचकहरूले अमेरिकी आर्थिक गतिविधि सन्तोषजनक गतिमा विस्तार भइरहेको देखाएका छन् ।
यद्यपि रोजगारी वृद्धिदर औषत रूपमा न्यून रहेको र बेरोजगारी दरमा खासै परिवर्तन नआएको बैंकले जनाएको छ । विश्वव्यापी रूपमा ऊर्जाको मूल्यमा भएको वृद्धिका कारण मुद्रास्फीति अझै पनि उच्च तहमा रहेको बैंकको ठहर छ ।
फेडरल रिजर्भले मध्यपूर्वमा जारी तनावका कारण विश्व आर्थिक परिदृश्यमा अनिश्चितता थपिएको उल्लेख गर्दै यसले उत्पन्न गर्नसक्ने जोखिमप्रति आफू सजग रहेको बताएको छ ।
कमिटीले आगामी दिनमा ब्याजदर समायोजनको आवश्यकता र समय निर्धारण गर्दा प्राप्त हुने तथ्यांक, बदलिँदो आर्थिक परिदृश्य र जोखिमको सन्तुलनलाई ध्यानपूर्वक मूल्याङ्कन गर्ने स्पष्ट पारेको छ । केन्द्रीय बैंकले मुद्रास्फीतिलाई आफ्नो २ प्रतिशतको लक्ष्यमा फर्काउने र अधिकतम रोजगारी सुनिश्चित गर्ने प्रतिवद्धतालाई पुनः दोहो¥याएको छ ।
ब्याजदर यथावत राख्ने निर्णयको पक्षमा कमिटीका १२ सदस्यमध्ये ११ जनाले मतदान गरेका थिए । कमिटीका सदस्य स्टेफन मिरानले भने ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले घटाउनुपर्ने धारणा राख्दै उक्त निर्णयको विपक्षमा मतदान गरेका थिए ।
अन्य तीन सदस्यले ब्याजदर यथावत राख्ने निर्णयलाई समर्थन गरे तापनि सोही विज्ञप्तिमा ‘ब्याजदर घटाउन सक्ने संकेत’ समावेश गर्ने विषयमा भने असहमति जनाएका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
