बिहिवार , बैशाख १७, २०८३
भैरहवा, १७ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले युवाहरु हरेक क्षेत्रमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले युवाहरु पढाइमा मात्र नभइ हरेक क्षेत्रमा अब्बल हुनुपर्ने धारणा राख्नुभएको हो ।
तिलोत्तमा नगरपालिकाद्वारा बिहीबार तिलोत्तमा–९ स्थित शंकरपुरमा आयोजित तेस्रो युवा सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले नगरपालिकाले युवालाई साझेदारको रुपमा लिएको बताउनुभयो । ‘तिलोत्तमा आशा, सम्भावना र अवसर बोकेको नगरपालिका हो । यो नगरपालिकामा विशेष गरेर युवाहरुलाई नयाँ सोचका साथ कसरी अगािड बढाउन सकिन्छ भन्नेतर्फ नगरपालिका लागिरहेको छ,’ उहाँले भन्नुभयो ।
तिलोत्तमा नेपालभरी मात्र नभइ संसारभरी पहिचान बनाएको नगरपालिका पनि भएको नगरप्रमुख खाणको भनाइ छ । युवा र विद्यार्थीहरु वर्तमानका साझेदार भएकाले नगरपालिकाले युवा र विद्यार्थीहरुलाई हरियाली प्रवद्र्धन, वातावरणमैत्री, भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर विकास, शैक्षिक हब बनाउन लगायत क्षेत्रमा युवालाई साझेदारको रुपमा अघि बढाएको उहाँले बताउनुभयो । तिलोत्तमाले आशा, सम्भावना, अवसरका साथ युवालाई समृद्धिसँग जोड्न गइरहेको उहाँले बताउनुभयो । ‘तिलोत्तमामा बसाईसराइ गरेर आउनेको संख्या बढ्दो छ । यहाँ आशा छ, सम्भावना र अवसर छ । हामीले एउटा बाटो, कल्भर्ट कम बनाएर पनि मानवीय विकास र युवाहरुलाई अगाडि बढाउन बढी जोड दिनुपर्छ, ’नगरप्रमुख खाणले भन्नुभयो ।
युवामा गरेको लगानी खेर नजाने उल्लेख गर्दै उहाँले युवालाई अगाडि बढाउने कुरामा नगरपालिकाले कति पनि कन्जुस्याई नगर्ने स्पष्ट पार्नुभयो । तिलोत्तमालाई युवामैत्री शहरको रुपमा विकास गर्दै यसलाई हरेक कुरामा अब्बल बनाउने गरी अघि बढ्नुपर्ने उहाँको जोड छ । युवा सम्मेलनबाट नगरपालिकाको सम्भावना र अवसरको पहिचान गर्ने कार्य अगाडि बढाउने उहाँको भनाइ छ ।
त्यस्तै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले नगरपालिकाले तालिमहरु सञ्चालन गर्दा विशेष गरी युवाहरुलाई ‘फोकस’ गरिरहेको बताउनुभयो । उहाँले सीपको माध्यमबाट युवाहरुलाई उद्यमी बनाउन नगरपालिका अघि बढेको बताउनुभयो । । समूहगत रुपमा कृषि गर्न चाहने युवाहरुलाई खेत जोताई गर्नका लागि नगरपालिकाले रकम व्यहोर्नुका साथै पशुपालनमा पनि अनुदान दिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकामा भौतिक विकासको माग बढी आउने गरेको भन्दै उहाँले भौतिक पूर्वाधारले मात्रै विकास नहुने बताउनुभयो । भौतिक विकाससँगै मानवीय विकासलाई पनि सँगैसँगै अगाडि बढाइएको उहाँले बताउनुभयो ।
तिलोत्तमा नगर कार्यपालिका सदस्य रवि सेञ्चुरीले तिलोत्तमाले नगरपालिका काममा विश्वास गर्दै आएको बताउनुभयो। उहाँले तिलोत्तमा महिला, बालबालिका, युवासहित सम्पूर्ण समुदायलाई जोडेर, सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो । ‘तिलोत्तमा धेरै सम्भावना बोकेको नगरपालिका हो । युवालले आँट गर्नुपर्छ र हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्छ भनेर युवा सम्मेलनको आयोजना गरेका छौं । युवाले ठूलो सपना देख्नुपर्छ । भौतिक विकास गरेर मात्र हुँदैन, मानवीय विकास हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौं, ’उहाँले भन्नुभयो ।
कार्यक्रममा २५० जना बढीको सहभागीता रहेको नगर कार्यपालिका सदस्य रवि सेञ्चुरीले जानकारी दिनुभयो । कार्यक्रममा डा. शालिकराम भण्डारीले तिलोत्तमादेखि नास्टसम्म र शंकर भण्डारीले मानसिकताको निर्माण कसरी हुन्छ समाजमा विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख (उपसचिव) गंगाराम आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम अन्तर्गत विभिन्न चरणमा छलफल गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
