शनिवार , बैशाख १९, २०८३
भैरहवा, १९ वैशाख । बलिङमा प्रिन्स पाल चम्किँदा न्यू होराइजन क्रिकेट क्लबले भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको शनिबारको खेलमा सहज जीत हात पारेको छ । होराइजनले बुटवल राइनोजलाई ७ विकेटले हराउँदै जीत निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ५० ओभरमा २३ ओभर खेल्दै अलआउट भएर जम्मा ७६ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न न्यू होराइजनका प्रिन्स पालले ७ ओभर बलिङ गर्दै ३ मेडनसहित ६ रन खर्चेर ६ विकेट हात पारे ।
त्यस्तै महेश भर र विप्रसन केसीले २–२ विकेट हात पारे । बुटवलका उत्तम थापा मगरले ३२ र शिव कुँवरले १५ रन बनाए । उसका अधिकांश खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ४ खेलाडी शून्य रनमै आउट हुँदा टीम धरासायी बन्यो ।
जवाफी ब्याटिङ गरेको न्यू होराइजनले १४ ओभर २ बलमा ३ विकेट गुमाएर ७७ रन बनाउँदै सहजै जीत निकाल्यो । उसको जीतमा संगम पाण्डेले अविजित २९, अमर मिश्राले २१ र ड्रस सुनारले १२ रनको योगदान गरे । बलिङमा बुटवल राइनोजका सुमित थापाले २ र प्रमिस पुनले १ विकेट लिए । खेलमा प्रिन्स पाल प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए ।
प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । त्यसै गरी सिद्धार्थ उद्योग वाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक र भैरहवा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यष अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
