२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

‘विद्यार्थीको रुची अनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्छ’

मंगलवार , बैशाख २२, २०८३

  • 238
    Shares
  • 238
    Shares
  • भैरहवा, २२ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुची अनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो । उहाँले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

    उहाँले अपांगता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको भन्दै फरक क्षमता भएका विद्यार्थीलाई आत्मनिर्भर र उद्यमशील बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

    मुख्यमन्त्री आचार्यले राज्यले फरक क्षमता भएका नागरिकका लागि अवसर सिर्जना गरिरहेको उल्लेख गर्नुभयो । यस्ता विद्यार्थीहरूको पठनपाठन र सीप विकासका विषयमा नजिकबाट बुझ्न पाउँदा खुशी लागेको बताउनुभयो ।

    वि.सं. २०३२ सालदेखि सुनाइ सम्बन्धी समस्या भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले विशेष शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो ।

    विद्यालयले नेपालसँगै छिमेकी मुलुक भारतका विद्यार्थीहरूलाई समेत समेट्दै समावेशी शिक्षा प्रदान गर्दै आएको छ । आवासीय सुविधा, पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मको अध्ययन तथा सीपमूलक तालिममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने प्रयास गरेको विद्यालयले जनाएको छ ।

    अपांगता भएका बालबालिकाका लागि पहुँचयुक्त, समावेशी र व्यवहारिक शिक्षा प्रणाली विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले यस्ता विशेष विद्यालयहरूको सुदृढीकरण, स्रोतसाधन विस्तार तथा दक्ष जनशक्ति व्यवस्थापनमा निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

    विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य भिम बहादुर थापाले पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म पढाई हुँदै आएको विद्यालयमा नेपाल–भारतका गरी २ सय ४३ जना विद्यार्थीहरु अध्ययनरत रहेको बताउनुभयो । यसमध्ये १ सय ३५ विद्यार्थीहरु छात्राबासमा बस्दै आएका छन् । विद्यालयमा ३५ जना शिक्षक–शिक्षिका तथा कर्मचारीहरु कार्यरत छन्। 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाण्डेयको अध्यक्षता तथा शिक्षक कृष्ण भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    स्वर्ण महोत्सवको अवसरमा विद्यालयद्वारा प्रकाशन गरिएको स्मारिका विमोचन गरिएको थियो । उक्त स्मारिकाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारी, सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव लगायतले विमोचन गर्नुभएको थियो ।