बिहिवार , बैशाख २४, २०८३
भैरहवा, २४ वैशाख । रुपन्देही क्रिकेट संघको आयोजनामा रुपन्देहीको भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा देवदह क्रिकेट युनिटले बुटवल राइनोजलाई हराएको छ । देवदहले बुटवललाई ४३ रनले पराजित गरेको हो ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले मौसमका कारण २५ ओभरमा छोट्याइएको खेलमा २३ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १ सय ३६ रन जोड्यो । उसका लागि सुमन पाण्डेले ७४ रनको अर्धशतकीय पारी खेल्दा सन्देश पन्थीले १६ रन बनाए । बलिङमा बुटवल राइनोजका नितिन त्रिपाठीले ३, शिव कुँवरले २ तथा सुमित थापा, प्रमिस पुन र हार्दिक बरईले १–१ विकेट लिए ।
बुटवल राइनोज २३ ओभर २ बलमा अलआउट हुँदै जम्मा ९३ रन बनायो र हार व्यहोर्यो । उसका लागि सुरज सारुले ३७, नितिन त्रिपाठीले ११ तथा सनित श्रेष्ठ र हार्दिक बरईले समान १०–१० रन बनाए पनि अन्य ब्याटर नचल्दा टीमले हार भोग्यो । बलिङमा देवदहका शशिधर टण्डनले ४, सन्देश पन्थीले ३, कृष्ण पराजुलीले २ तथा सुदीप अर्यालले १ विकेट लिए । खेलमा सुमन पाण्डे प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताए ।
प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । त्यसै गरी सिद्धार्थ उद्योग वाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
