२०८३, बैशाख २७ गते

May 10 2026 | २०८३, बैशाख २७ गते

पञ्चकन्या रूपन्देही सुपर लिग : तिरुपतिले देवदहलाई हरायो

आइतवार , बैशाख २७, २०८३

  • 529
    Shares
  • 529
    Shares
  • भैरहवा, २७ वैशाख । रुपन्देहीको भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा तिरुपति क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई ४ विकेटले पराजित गर्दै जीत हात पारेको छ ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको देवदहले निर्धारित ५० ओभरमा २८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय १२ रन जोड्यो । उसका लागि सुदीप अर्यालले ४०, सुमन पाण्डेले २०, सुरज खड्काले १२ र सोयम चापागाईंले ११ रन बनाए । बलिङमा तिरुपतिका दिवान पुनले ३, आकाश त्रिपाठी र तुलबहादुर थापाले २–२ तथा सन्दीप मौर्यले १ विकेट हात पारे ।

    जवाफी ब्याटिङ गरेको तिरुपतिले १७ ओभर ५ बलमा ६ विकेट गुमाएर १ सय १४ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा आकाश त्रिपाठीले ५० रनको अर्धशतकीय पारी खेल्दा रौनक श्रीवास्तवले अविजित २० र तुलबहादुर थापाले १४ रन जोडे । बलिङमा देवदहका सुरज खड्काले ३ तथा सुदीप अर्याल र रोशन गौतमले १–१ विकेट लिए । खेलमा अकाश त्रिपाठी प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । त्यसै गरी सिद्धार्थ उद्योग वाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक र व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।