२०८३, बैशाख २८ गते

May 11 2026 | २०८३, बैशाख २८ गते

पञ्चकन्या रूपन्देही सुपर लिग : वेष्टर्नले बुद्धलाई ९ विकेटले हरायो

सोमवार , बैशाख २८, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • भैरहवा, २८ वैशाख । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । उसले बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले हराउँदै सहज जित निकालेको हो । 

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको बुद्धले निर्धारित ५० ओभरको खेलमा २६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७७ रन बनायो । उसलाई सस्तैमा रोक्न वेष्टर्नका अभिषेश गौतमले ४, सुझाव थापाले ३ तथा सन्देश थापा र कलम मुसलमानले १–१ विकेट लिए । बुद्धका मिथिलेश यादव र दिलसाद अलीले १५–१५ तथा गौतम केसीले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

    जवाफी ब्याटिङ गरेको वेष्टर्नले ८ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा ७९ रन बनाउँदै सहजै जित हात पार्यो । उसका लागि प्रज्जवल थापाले अविजित ४७ र रन्जित खड्काले नटआउट २८ रन बनाए । बुद्धका विपिन शर्माले १ विकेट लिए । खेलमा अभिशेष गौतम प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । त्यसै गरी सिद्धार्थ उद्योग वाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक र व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।