मंगलवार , बैशाख २९, २०८३
भैरहवा, २९ वैशाख । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पस भैरहवाले विद्यार्थीहरूलाई च्याउ खेतीसम्बन्धी व्यवहारिक तथा व्यवसायिक ज्ञान प्रदान गर्ने उद्देश्यले अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम अन्तर्गत बी.एस्सी. एजी सातौं सेमेस्टरमा अध्ययनरत करिब १ सय जना विद्यार्थीहरूले रुपन्देहीको कञ्चन गाउँपालिका–१ स्थित टिम स्पिन्जर एग्रो प्रा.लि.को अवलोकन गरेका हुन् ।
अवलोकन भ्रमणका क्रममा फार्मका सञ्चालक गंगा शर्माले विद्यार्थीहरूलाई स्वागत गर्दै च्याउखेती व्यवसायमा आफूले हासिल गरेको अनुभव, व्यवसाय सञ्चालनका चुनौती, सम्भावना तथा सफलताका पक्षबारे जानकारी गराउनुभयो । उहाँले च्याउको बीउ उत्पादनदेखि उत्पादन प्रक्रिया, व्यवस्थापन, बजारीकरण र व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने प्राविधिक तथा व्यवसायिक पक्षबारे विस्तृत रूपमा प्रशिक्षणात्मक जानकारी दिनुभएको थियो ।
भ्रमणका क्रममा विद्यार्थीहरूले बेमौसमी रूपमा उत्पादन गरिएको कन्य च्याउको प्रत्यक्ष अवलोकन समेत गरेका थिए । कार्यक्रममा बोल्दै शर्माले नेपालमा च्याउ खेती व्यवसायको व्यापक सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले आधुनिक प्रविधि, वैज्ञानिक व्यवस्थापन र व्यवसायिक सोचमार्फत कृषिबाटै आत्मनिर्भर बन्न सकिने बताउनुभयो । उहाँले आफ्नो फार्मबाट वार्षिक करिब १ करोड रुपैयाँ बराबरको कारोबार भइरहेको जानकारी दिनुभयो । कृषि क्षेत्रमा युवाहरूको सक्रिय सहभागीता आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापनमा भ्रमण निर्देशक वैज्ञानिक लक्ष्मण अर्यालले यस्ता अवलोकन भ्रमणले विद्यार्थीहरूलाई कक्षाकोठामा सीमित सैद्वान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो । उहाँले वास्तविक कृषि उद्यमको अनुभव हासिल गराउने उद्देश्यले आयोजित कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सञ्चालक शर्मा तथा सम्पूर्ण फर्म परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
