२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

भैरहवामा ‘फूड बैंक’ स्थापना

सोमवार , बैशाख २७, २०७८

भैरहवा, २७ वैशाख । 
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवामा ‘फूड बैंक’ को स्थापना भएको छ । कोरोना भाइरसको संक्रमणका कारण निषेधाज्ञा जारी भएपछि प्रभावित भएका विपन्न परिवारलाई मध्यनजर गर्दै भैरहवास्थित प्रहरी टोलमा सोमबारदेखि ‘फूड बैंक’ सञ्चालनमा ल्याएको क्लबले जनाएको छ ।

विशेष गरी दैनिक ज्यालादारी गरेर बिहान सांझको छाक टार्ने विपन्न परिवार तथा मजदूरलाई फूड बैंकमार्फत खाद्यान्न सामग्री निःशुल्क उपलब्ध गराइने क्लबका संस्थापक अध्यक्ष विमल सेञ्चुरीले बताए । ‘कम्तीमा १० दिन पुग्ने खाद्यान्न सामग्री क्लबले फूड बैंकमार्फत निःशुल्क उपलब्ध गराउनेछ, ’सेञ्चुरीले भने । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था भएकोले महामारीको बेला पनि विपन्न परिवारलाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले यो कामको सुरुवात गरिएको उनको भनाइ छ । क्लबले चामल, दाल, तेल, सोयाबीन, नुन र चिउरा उपलब्ध गराउने उनले जानकारी दिए । त्यसै गरी स्वास्थ्य सुरक्षाका सामग्री (माक्स) पनि उपलब्ध गराइने क्लबले जनाएको छ । 

पहिलो दिन १२ परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराइएकोे क्लबका वर्ष २०२०/०२१ का अध्यक्ष हिरा बहादुर शाहले बताए । निषेधाज्ञा सुरु भएपछि उद्योग, व्यवसाय बन्द छन्, यस्तो अवस्थामा काम गरेर गुजारा चलाउन समस्या छ, त्यसैले छाक टार्न  विपन्न परिवार वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले फूड बैंक स्थापना गरेका हौं, ’उनले भने ।

क्लबले फूड बैंकमा आएर खाद्यान्न लैजान नसक्ने परिवारका लागि घरघरमै पुगेर सहयोग उपलब्ध गराउने क्लबका सदस्य धर्मवीर शर्माले बताए । उक्त कार्यका लागि क्लबले कोषाध्यक्ष कृष्ण प्रसाद अधिकारी र सदस्य धर्मवीर शर्मालाई जिम्मेवारी दिएको छ । फूड बैंकमा खाद्यान्न सामग्री स्वतस्र्फूत रुपमा जो कोहीले पनि सहयोग गर्न सक्ने शर्माले बताए ।

सोमबार फूड बैंकको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले सामाजिक क्षेत्रमा रोटरी क्लबहरुले पुर्याएको योगदान महत्वपूर्ण रहेको चर्चा गरे । उनले महामारीको समयमा क्लबले रचनात्मक कार्य गरेको बताए । 

क्लबले आइतबार भैरहवास्थित भीम अस्पतालमा १२० जना बिरामीलाई खाना तथा १० काटुन पानी वितरण गरेको क्लबका द्वितीय उपाध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए । उक्त कार्यक्रममा क्लबका अध्यक्ष हिरा बहादुर शाह, गोपाल भण्डारी, धर्मवीर शर्मा, लक्की सिंह, प्रख्यात बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।