२०८३, जेठ २ गते

May 16 2026 | २०८३, जेठ २ गते

पञ्चकन्या रूपन्देही सुपर लिग : वेष्टर्न क्रिकेट क्लब विजयी

शनिवार , जेठ २, २०८३

  • 256
    Shares
  • 256
    Shares
  • भैरहवा, २ जेठ । ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत भैरहवामा जारी ‘ए’ डिभिजनको शनिबारको खेलमा वेष्टर्न क्रिकेट क्लबले जीत हात पारेको छ । वेष्टर्नले जेआर क्रिकेट क्लबमाथि ३ विकेटको जीत निकालेको हो ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको जेआरले निर्धारित ५० ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ७१ रन बनायो । उसका लागि गगन अधिकारीले ५५, विमल भट्टराईले २८, विशाल भुसालले २१, दिनेश विष्टले १९ र अनमोल श्रीस थापाले १७ रन बनाए । बलिङमा वेष्टर्नका सन्देश थापा र अभिशेष गौतमले ३–३ तथा कलम अली मुसलमानले २ र सुझाव थापाले १ विकेट हात पारे ।

    जवाफी ब्याटिङ गरेको वेष्टर्नले ३४ ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो र जीत निकाल्यो । उसको जितमा देव खनालले ५८, मिर्नाल गुरुङले ३२, अभिषेश गौतमले २१ तथा प्रज्जवल थापा र कलम अली मुसलमानले १९–१९ रनको योगदान गरे । 

    बलिङमा जेआरका दिनेश विष्टले ३, कृष्ण पन्थीले २ तथा अशोक बोहरा र अनमोल श्रीस थापाले १–१ विकेट लिए । खेलमा अभिशेष गौतम म्यान अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । त्यसै गरी सिद्धार्थ उद्योग वाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक र व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।