२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

पञ्चकन्या रूपन्देही सुपर लिग : मेलवर्न क्रिकेट क्लबको दोस्रो जीत

सोमवार , जेठ ४, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • भैरहवा, ४ जेठ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबले जीत निकालेको छ । उसले बुद्ध क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै जीत हात पारेको हो । प्रतियोगितामा मेलवर्नको यो लगातार दोस्रो जीत हो ।

    जीतका लागि पाएको १ सय ५८ रनको लक्ष्य मेलवर्नले ३५ ओभर ४ बलमा ४ विकेट गुमाएर १ सय ५९ रन बनाउँदै पूरा गर्यो र जीत निकाल्यो । उसको जितमा विपिन आचार्यले अविजित ९४ रनको पारी खेले । यस्तै, आदित्य यादवले २३, अर्मन थारुले २० र अशोक धामीले १९ रनको योगदान गरे । बलिङमा बुद्धका विपिन शर्मा, दिलसाद अली, प्रवेज अन्सारी र अमित अग्रहरीले समान १–१ विकेट लिए ।

    यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले निर्धारित ५० ओभरको खेलमा ३४ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि मिथिलेश यादवले ५६, दिलसाद अलीले ४०, सुरज पौडेलले २९ र विपिन शर्माले ११ रन बनाए । बलिङमा मेलवर्नका अशोक धामीले ५, रमेश कुर्मी, विपिन आचार्य र आरिफ खानले समान १–१ विकेट लिए । खेलमा विपिन आचार्य प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।
    प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् ।

    त्यसै गरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक र व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।