
सोमवार , बैशाख २७, २०७८
नवलपरासी, २७ वैशाख ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा जिल्लाकै पहिलोपटक आइसीयू सेवा सञ्चालन हुने भएको छ । जिल्लामा कोरोना संक्रमणका कारण हरेक दिन संक्रमित र मृत्यु दर बढ्न थालेपछि नगरपालिकाले १० बेडको आइसीयू सेवा सञ्चालन गर्न लागेको हो ।
सुनवल नगरपालिका–११ मा सञ्चालित सर्वोत्तम सिमेन्ट उद्योगले करिब ७० लाख रुपैयाँ बराबरको आइसीयूका लागि आवश्यक पर्ने सम्पूर्ण मेडिकल उपकरण सामाग्रीहरु शनिबार हस्तान्तरण गरेसंगै नगरपालिकाको प्राविधिक सहयोगमा यति बेला मेडिकल उपकरणको जडान कार्यलाई तीव्रता दिइएको छ ।
जिल्लामा आईसीयु सेवा उपलब्ध नहुँदा कोभिड संक्रमणका जटिल बिरामीहरु बुटवल र भैरहवा जानुपर्ने बाध्यता रहेको र ती अस्पतालहरुमा पनि पछिल्लो समय बेड अभावमा उपचार नपाएर कोभिड संक्रमितको मृत्युदर दैनिक बढ्दै गएकाले नगरपालिकाको आग्रहमा सिमेन्ट उद्योगले आईसीयुका लागि आवश्यक मेडिकल उपकरण सहयोग गरेको नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले बताए ।
कोभिड संक्रमितका लागि नगरपालिकाले १० बेड सेमि–आइसियु (एचडीयू) र अक्सिजनसहितको २० बेडको आईसोलेसन निर्माण गरेको र आईसोलेसनमा १ चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीहरु रहने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले बताए ।
जिल्लामा अहिलेसम्म २५ सय ५३ जना कोरोना सक्रमित रहेका छन् । तीमध्ये सक्रिय संक्रमितको संख्या १ हजार २१ रहेको छ । जिल्लामा हालसम्म ७२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।कोभिडको नयाँ भेरिएन्ट सुरु भए यता २१ दिनको अवधिमा जिल्लामा मात्रै ४० जनाको मृत्यु भएको छ । सामान्य आइसोलेसनबाहेक आइसीयू र भेन्टिलेटर सेवा उपलब्ध नहुनु र जिल्ला बाहिरका अस्पतालमा बेड अभावका कारण कोभिड संक्रमितहरुले उपचार नपाइ अकालमा मृत्युवरण गर्नुपर्ने बाध्यता छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij