बुधवार , जेठ ६, २०८३
बुटवल, ६ जेठ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नवनियुक्त अस्पताल विकास समिति सदस्य उमादेवी ढकाल (कल्पना)ले मंगलबार पदभार ग्रहण गर्नुभएको छ ।
सो अवसरमा बोल्दै उहाँले अस्पतालमा आउने कुनै पनि सेवाग्राहीले स्वास्थ्य उपचारमा आफूलाई सुरक्षित महसुस गर्ने गरी वातावरण निर्माण गर्न विकास समिति, अस्पताल प्रशासन, चिकित्सक तथा कर्मचारीहरुको सहकार्यमा जोड दिनुभयो ।
अस्पतालसँग लाखौं जनताको भरोसा र विश्वास जोडिएको बताउँदै उहाँले सोहीअनुसार वातावरण निर्माणका लागि आफूले विकास समितिको सदस्यमा रहेर भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नवनियुक्त सदस्यलाई स्वागत गर्दै विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालप्रति जनअपेक्षा अत्याधिक रहेको बताउँदै त्यसलाई निरन्तरता र व्यवस्थापन जटिल बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले अस्पतालको सेवा गुणस्तरलाई कायम राख्नका लागि पारदर्शी सहकार्यको आवश्यकतामा जोड दिनुभयो ।
अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. विष्णुप्रसाद गौतमले अस्पतालको गतिविधिलाई अधिकतम पारदर्शीता, उत्तरदायित्व र सहकार्यमा अघि बढाउन आफू प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । यसका साथै जनअपेक्षा र अस्पतालमा प्राप्त सेवासुविधा, जनशक्ति तथा प्रविधिहरुको सीमितताबारे पनि जनतालाई बुझाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक २ हजारदेखि २५ सय बिरामी उपचारका लागि आउने गर्छन् । अस्पतालमा वार्षिक ४ लाख बढीले स्वास्थ्य सेवा लिने गरेको तथ्यांक छ ।
यसअघि अस्पताल विकास समितिको महिला सदस्य पदमा रहनुभएकी लक्ष्मी भट्टराईको ३ वर्षे कार्यकाल पूरा भएपछि लुम्बिनी प्रदेश सरकारले ढकाललाई सदस्यमा नियुक्त गरेको हो । उहाँको कार्यकाल ३ वर्षको रहने कार्यविधि छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
