
मंगलवार , बैशाख २८, २०७८
बुटवल, २८ वैशाख ।
आज मातातीर्थ औँसी, आदर, सम्मान, श्रद्धा र भक्तिसाथ आमाको आशिर्वाद लिएर साथै आमाको सुस्वास्थ्य र दिर्घायुको कामना गरी मनाइँदैछ । शास्त्र अनुसार विशेष गरी हिन्दु समाजमा छोराछोरीले आफ्नी आमालाई टिका तथा फुल प्रदान गरी नयाँ लुगा र मीठा खानेकुरा दिएर शुभकामना दिने र आशीर्वाद थाप्ने चलन छ ।
शास्त्रमा भनिएको छ-सन्तानलाई ९ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरु भन्दा बढी छ । बुवा भन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुशी बनाएमा सन्तानहरुले आशिर्वाद पाउँछन् ।
हरेक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्वका रुपमा मनाउने चलन छ । नितिशास्त्र अनुसार पिता भन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र आमाले गरेका महान् एवं कष्टकर काम सम्झेर श्रद्धा तथा भक्तिभाव व्यक्त गर्ने गर्दछन् ।
वैशाख कृष्ण औँसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुशी भइ आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ । आज काठमाडौंस्थित मातातिर्थमा मेला लाग्ने गर्दछ । आमा गुमाएकाहरुले आमाको सम्झनामा प्रकट गर्दछन् ।
शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नै पर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij