२०८३, जेठ ८ गते

May 22 2026 | २०८३, जेठ ८ गते

पञ्चकन्या रूपन्देही सुपर लिग : वेष्टर्न क्रिकेट क्लब फाइनलमा

शुक्रवार , जेठ ८, २०८३

  • 571
    Shares
  • 571
    Shares
  • भैरहवा, ८ जेठ । वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमीफाइनलमा वेष्टर्नले तिरुपति क्रिकेट क्लबलाई ६५ रनले हराउँदै सुपर लिगको फाइनल यात्रा तय गरेको हो ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९ रनको बलियो योगफल बनायो । उसका लागि सन्देश थापाले अविजित ५२, दिपेश रोकाले ३४, सुमित नेवारले ३३, रन्जित खत्रीले २४, कलम अली मुसलमानले २३ र प्रज्जवल थापाले १० रन बनाए । 

    बलिङमा तिरुपतिका दिवान पुन र बसिर अहमदले २–२ तथा मोहम्मद हुसेन गद्दी, तुलबहादुर थापा, सन्दीप मौर्य र आकाश त्रिपाठीले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङमा आएको तिरुपति ३२ ओभर १ बलमा अलआउट भयो र १ सय ४४ रन मात्रै बनायो । उसका लागि मोहम्मद हुसेन गद्दीले २७, बसिर अहमदले २५, दिवान पुनले २२, आकाश त्रिपाठी, विजय खनाल र तुलबहादुर थापाले १८–१८ रन बनाए । 

    बलिङमा वेष्टर्नका कलम अली मुसलमान र अभिशेष गौतमले ३–३ तथा सन्देश थापा, देव खनाल र सुझाव थापाले १–१ विकेट लिए । खेलमा सन्देश थापा प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । त्यसै गरी सिद्धार्थ उद्योग वाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक र व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।