शुक्रवार , जेठ ८, २०८३
भैरहवा, ८ जेठ । लुम्बिनी खुकुरी क्लब र वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ को उपाधिका लागि भिड्ने पक्का भएको छ । शुक्रबार भएको दोस्रो सेमीफाइनल खेलमा खुकुरीले मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई ९० रनले हराउँदै फाइनल यात्रा तय गरेको छ । वेष्टर्न बिहीबारको खेलमा विजयी हुँदै फाइनल पुगेको थियो । यी दुई टीम शनिबार उपाधिका भिड्नेछन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको लुम्बिनी खुकुरीले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ५४ रनको बलियो योगफल खडा गर्यो । उसका लागि सन्दीप रजालीले ६९, शंकर रानाले ४७, निश्चल चौधरीले ४३, समीर अली मुसलमानले २४, शाह आलमले २३, सेजाद धोवीले १५ र सुजन रानाभाटले ११ रन जोडे । बलिङमा मेलवर्नका अशोक धामीले ४, दीपेश श्रेष्ठ र आरिफ अहमदले २–२ तथा रमेश कुर्मीले १ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको मेलवर्नले ३८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ६४ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि विपिन आचार्यले ५८, अस्मान थारुले २४, दीपेश श्रेष्ठले १७, मनिष थापा र संजय थापाले १४–१४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमको फाइनल पुग्ने लक्ष्य पूरा भएन ।
बलिङमा लुम्बिनी खुकुरीका अजय कुमार चौहानले ४, शाह आलमले २ तथा दुर्गेश गुप्ता, बैतुल्लाह खान, शंकर राना र सुजन रानाभाटले समान १–१ विकेट लिए । खेलमा सन्दीप रजाली प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताए ।
प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । त्यसै गरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक र व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
