२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

शनिवार , जेठ ९, २०८३

  • 439
    Shares
  • 439
    Shares
  • बुटवल, ९ जेठ । चिदिका–रुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ स्थित जनकल्याण आधारभूत विद्यालय र ईश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । समाजले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले स्कूल ब्याग, कापी, कलम लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

    कार्यक्रममा समाजको अध्यक्ष गीता ज्ञवालीले ग्रामीण क्षेत्रका विद्यार्थीलाई शिक्षातर्फ थप प्रेरित गर्न सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा समाजले सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    त्यस्तै छत्रदेव गाउँपालिका–१ का वडाध्यक्ष काजीबाबु ज्ञवालीले समुदायको सक्रियताले विद्यालयको शैक्षिक वातावरण सुधारमा टेवा पुग्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा उत्साह थप्ने उल्लेख गर्नुभयो ।

    विद्यालय सञ्चालक समितिका अध्यक्ष मेघबहादुर ज्ञवालीले विद्यालयका विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराउनु सकारात्मक कार्य भएको बताउँदै सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक प्रविण अधिकारीले विपन्न परिवारका विद्यार्थीलाई यस्ता सहयोग प्रभावकारी हुने बताउनुभयो ।

    त्यसै गरी जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक केशव ज्ञवालीले विद्यार्थीलाई शैक्षिक सामग्री अभाव हुन नदिन समाजले गरेको पहल प्रशंसनीय रहेको बताउनुभयो । पूर्ववडाध्यक्ष प्रकाश पन्थीले सामाजिक एकताबाट शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा राख्नुभयो ।

    कार्यक्रममा वडा सदस्य हरि पाण्डे र देवकला वि.क., समाजका उपाध्यक्ष कमल अर्याल, संस्थापक कोषाध्यक्ष रामप्रसाद पन्थीलगायतले पनि विद्यार्थीको शैक्षिक विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
    कार्यक्रम सफल बनाउन सुधन ज्ञवाली, भुवन ज्ञवाली, हरिप्रसाद ज्ञवाली, जीवन अधिकारी तथा बुटवल हिलपार्कले सहयोग गरेका थिए ।