२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

सम्भावित रोजगारी बजार र सीपको खाडल कम गर्न शैक्षिक संस्था र उद्योग क्षेत्रबीच संवाद

शनिवार , जेठ ९, २०८३

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • बुटवल, ९ जेठ । कयौं रोजगारी नेपालमै छ । तर, उद्योग व्यवसाय क्षेत्रमा दक्ष र सीपयुक्त कामदार अभाव छ । सरकार, नेपालको औद्योगिक एवं व्यवसायिक क्षेत्र र जनशक्ति उत्पादक शैक्षिक संस्थाहरुबीच संवाद, सहकार्य र रोजगार प्रदायक रणनीति छैन । नयाँ रोजगारी क्षेत्रको खोजी गर्ने र नेपालमै दक्ष जनशक्ति उत्पादन र व्यवस्थापन गर्ने कुरालाई गम्भिरताका साथ लिएर बुटवल कालिका क्याम्पसले संवाद, सहकार्य र रोजगार प्रदायक रणनीतिको लागि थालनी गरेको छ । शुक्रबारदेखि सुरु भएको सो संवाद कार्यक्रम आइतबारसम्म चल्नेछ । 

    विश्वविद्यालय अनुदान आयोगको सहयोगमा बुटवल कालिका क्याम्पसले आयोजना गरेको नेपालको सम्भावित रोजगारी बजारका लागि सीपको खाडल कम गर्न शैक्षिक संस्था र उद्योग क्षेत्रबीच संवाद कार्यक्रममा सहभागीहरुले सम्भव भएर पनि सहकार्यको रणनीति नहुँदा रोजगारी र सीपको खाडल कम नभएको बताए । रोजगारी र सीपको प्रयोग गर्ने सम्भावना नेपालकै बजारमा प्रशस्त हुँदाहुँदै जनशक्ति विदेशिने र उता रोजगारदाताले बाहिर खोजी गर्ने परम्परा अव अन्त्य हुनुपर्ने कुरामा उनीहरुले जोड दिएका छन् । उनीहरुले भने–‘सबैचिज हामीसँग छ सबै सम्भव छ तर, हामी मृगले कस्तुरी खोजेजस्तो भौंतारिरहेका छौं ।’

    सहभागी विज्ञ वक्ताहरु भन्छन्–‘उद्योग व्यवसाय क्षेत्र नेपालको प्रमुख रोजगारीको क्षेत्र भए पनि सरकार, रोजगारदाता कम्पनी र जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरुबीच ठोस सहकार्य नीति र दीर्घकालीन रणनीति नहुँदा समस्या ज्यूँ का त्यूँ छ ।’

    मध्यपश्चिम विश्वबिद्यालयका प्राध्यापक प्रा.डा. चन्द्रप्रकाश रिजालले रोजगारदाता, जनशक्ति उत्पादक संस्था र सरकारबीच सहकार्य नीति नहुँदा उद्योग व्यवसाय क्षेत्रले दक्ष जनशक्ति अभावमा बिदेशी कामदार खोज्नुपरेको बताउनुभयो । ‘स्वदेशकै शिक्षालयबाट उत्पादित जनशक्तिले रोजगारको खोजीमा भौंतारिनुपरेको छ, ’प्रा.डा. रिजाल भन्नुहुन्छ–’पाठ्यक्रममा पनि व्यापक परिमार्जनको आवश्यक्ता छ, मध्यपश्मिाञ्चल विश्वविद्यालयले यसको सुरुवात पनि गरिसकेको छ ।‘

    मेटलकाष्ट प्रा.लि.का प्रबन्ध निर्देशक निश्चल शर्माले क्याम्पसमा पढ्दापढ्दै प्राविधिक रुपले पनि अभ्यास गर्ने परिपाटीको शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । विदेशीले बनाइदिएको पाल्पाको मिशन हस्पिटल र बुटवल टेक्निकल ईन्ष्टीच्यूट (बिटिआई) बाट सिक्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘विदेशीले आएर हामीलाई सिकाएर गए । तर, हामीले सिकेनौं, सिकेर पनि व्यवहारमा लागू गरेनौं । तर, अब ढिला नगरौं । पढ्दै, काम सिक्दै गर्ने परिपाटीको विकास तत्काल गरौं ।’ पाठ्यक्रममा पनि सुधार गरी सैद्वान्तिक भन्दा व्यवहारिक ज्ञान प्रदान गर्ने खालको शिक्षाको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

    llll.JPG

    कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष नित्यानन्द ज्ञवाली, समितिका पूर्व अध्यक्ष अर्जुनमान सैंजु, क्याम्पस प्रमुख घनश्याम पाठक, सहायक क्याम्पस प्रमुख महेश पाण्डे, उद्योगी व्यवसायी अनिल प्रसाद श्रेष्ठ, नेशनल कुकवेयर प्रा.लिका रुस्तम कंडेल लगायतले सम्भावना हुँदाहँदै खोजी गर्ने र उचित व्यवस्थापन गर्ने परिपाटीको विकास नहुँदा यो विषयले प्राथमिकता पाउन नसकेको चर्चा गर्नुभएको थियो ।