२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

वेष्टर्न क्रिकेट क्लबले जित्यो पञ्चकन्या रूपन्देही सुपर लिगको उपाधि

शनिवार , जेठ ९, २०८३

  • 316
    Shares
  • 316
    Shares
  • भैरहवा, ९ जेठ । २४ औं संस्करणको ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले हात पारेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले चौथोपटक उपाधि जित्न सफल भएको हो । गत सिजनको सुपर लिग पनि वेष्टर्नले नै जितेको थियो ।

    उपाधि विजेता वेष्टर्नले १ लाख १ रुपैयाँ र उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ प्राप्त गर्याे।

    टस जितेर ब्याटिङमा आएको वेष्टर्नले निर्धारित ५० ओभरमा ४८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ सय ८२ रन बनायो । उसका लागि देव खनालले ३०, दीपेश रोक्काले २७, सन्देश थापाले २६, सुमित नेवारले २०, रन्जित खत्रीले १९, प्रज्जवल थापाले १४, कलम अली मुसलमानले १३, अभिशेष गौतम र सागर गैरेले समान १०–१० रन बनाए ।
    बलिङमा लुम्बिनी खुकुरीका बैतुल्लाह खानले ३, अजय कुमार चौहान र शाह आलमले २–२ तथा शंकर राना र सुजन रानाभाटले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङमा आएको लुम्बिनी खुकुरी २४ ओभर ५ बलमा १ सय ३७ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न वेष्टर्नका अभिशेष गौतमले ८ ओभर ५ बल बलिङ गर्दै २ मेर्डनसहित ३६ रन खर्चेर सर्वाधिक ७ विकेट लिए । त्यस्तै सुझाव थापाले ३ विकेट हात पारे । 

    खुकुरीका समीर अली मुसलमानले ६७ र शंकर रानाले ४७ रन बनाए पनि अन्य ब्याटर नचल्दा टीम उपाधि चुम्नबाट चुक्यो । अभिशेष गौतम म्यान अफ द फाइनल भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगितामा वेष्टर्नका अभिशेष गौतम म्यान अफ द सिरिज भइ १५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबका विपिन आचार्य बेष्ट ब्याटर, मेलवर्नकै अशोक धामी बेष्ट बलर र वेष्टर्नका सुझाव थापा उदयीमान खेलाडी घोषित भए । उनीहरु तीनैजनाले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।

    विजेता र उपविजेता टीमलाई आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्मा, खेल संयोजक प्रथम पराजुली, संघका कोषाध्यक्ष निरज प्रताप खाँण लगायतले पुरस्कार प्रदान गरे ।