बुधवार , जेठ १३, २०८३
भैरहवा, १३ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० दोगहरीस्थित श्री सूर्यदेव माध्यमिक विद्यालयमा ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम सञ्चालन गरिएको छ ।
विद्यालयको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको सहयोगमा कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक भरत गिरी गोसाईले बताउनुभयो । विद्यालयको शैक्षिक, प्रशासनिक, सामाजिक, आर्थिक एवं भौतिक वातावरण सुधार गर्दै विद्यालय र समुदायबीचको सम्बन्ध सुदुढ बनाउने कार्यक्रमको उद्देश्य रहेको प्रधानाध्यापक गोसाईले बताउनुभयो । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको वार्षिक कार्यक्रम अन्तर्गत ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘विद्यालयमा आर्थिक सहयोग नै गर्नुपर्छ भन्ने छैन, शैक्षिक, भौतिक, सामाजिक रुपमा पनि सहयोग गर्न सकिन्छ, ’उहाँले भन्नुभयो ।
मंगलबार विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा बोल्नुहुँदै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले सामूदायिक विद्यालयलाई अगाडि बढाउन सिद्धार्थनगरका संस्थागत विद्यालयले पनि सहयोग गर्नु सराहनीय रहेको बताउनुभयो । ‘यो विद्यालयलाई अगाडि बढाउन वडा नम्बर १० का वडाअध्यक्ष सुजर्मन यादवसहितको टीमले उल्लेखनीय कार्य गरेको छ, ’उहाँले भन्नुभयो । जीवनमा आइपर्ने समस्यासँग जुध्न शिक्षा आर्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कम्तीमा आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा केही न केही सहयोग गर्ने सोच राखेर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । विद्यालयलाई सहयोग गर्ने सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
त्यस्तै सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख हरि बहादुर बिष्टले ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम मात्र नभइ अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले जहाँ भए पनि आफूले शिक्षा आर्जन गरेको पवित्र मन्दिर (विद्यालय) प्रति आफ्नो दायित्व पूरा गर्नुपर्छ भन्ने भावको विकास गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । ‘कर्तव्यबोध गर्ने हो भने विद्यालयलाई राम्रो बनाउन सकिन्छ, जहाँ पुगे पनि आफूले अध्ययन गरेको विद्यालयलाई बिर्सनुहुँदैन, केही न केही योगदान गर्नुपर्छ ’उहाँले भन्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको वरिष्ठ शिक्षा अधिकृत जाह्नवी पाण्डेले सरकारको सहयोगका बाबजुद सामूदायिक विद्यालयमा देखिएका स–साना अभावलाई पूर्ति गर्दै विद्यालयलाई समुदायका व्यक्तित्वले नै विशेष बनाउन सक्ने बताउनुभयो । उहाँले विद्यालयप्रति दायित्वबोध गराउन सचेतना जगाउने उद्देश्यले पनि यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । ‘मेरो विद्यालय मेरो दायित्व’ कार्यक्रम आज लागि मात्र होइन, विद्यालयलाई राम्रो बनाउन कसले कति योगदान गर्न सक्नुहुन्छ भन्ने सोच्न जरुरी छ, ‘उहाँले भन्नुभयो । यो कार्यक्रम अन्य विद्यालयमा पनि सञ्चालन गर्न जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।
रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख मोतीलाल सुवेदीले श्री सूर्यदेव माध्यमिक विद्यालय विभिन्न राम्रो कार्य अघि बढाएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यालयको गतिविधि जान्न मौका प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थनगर–१० का वडाअध्यक्ष सुर्जमान यादव, सूयदेव माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार कोइरी, सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष विष्णु प्रसाद पन्थी, विद्यालयका शिक्षक गंगालाल जैसीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
