बिहिवार , जेठ २१, २०८३
भैरहवा, २१ जेठ । रुपन्देहीको भैरहवामा ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगिता–२०८३’ को हुने भएको छ । भैरहवामा पहिलोपटक सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको आयोजक पब्लिककुरा डटकमले बिहीवार भैरहवामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
पब्लिक कुराका सम्पादक प्रकाश न्यौपानेले अनलाइन पत्रिका पब्लिक कुरा डटकमले स्थापनाको पाँचवर्ष पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय नाकाको सहर र उद्योग–व्यवसायको केन्द्र रुपन्देहीका कर्पोरेट संस्थाबीच समन्वय, सद्भाव र मैत्रीभाव विकास गर्ने उद्देश्यले उक्त प्रतिगोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।
यही जेठ २३ र २४ गते सिद्धार्थनगर नगरपालिका–१३ स्थित भैरहवा फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा रुपन्देही जिल्लामा रहेका विभिन्न २६ वटा कर्पोरेट संस्थाका टीम सहभागी हुँदैछन् ।
प्रतियोगिताको टाइटल स्पोन्सर द नेक्स्ट एजुकेशन कन्सलटेन्सीले गरेको छ भने मुख्य प्रायोजक अर्घाखाँची सिमेन्ट लिमिटेड र सह–प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिङ्स र एशियन कंक्रिटो प्रा.लि. छन् । त्यस्तै सारथी केबल इण्डष्ट्रिज लिमिटेड, लुम्बिनी एम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रा.लि., गणेश ईंटा उद्योग र श्याम प्लाइउड इण्डष्ट्रिज प्रा.लि.ले प्रतियोगितामा सहकार्य गरेका छन् ।
प्रतियोगिताको क्याफे पार्टनरमा ब्ल्याक फरेष्ट, हस्पिटालिटी पार्टनरमा होटल पौवा, रेष्टुरेण्ट पार्टनरमा ड्याडिज किचन, मिष्ठान्न पार्टनरमा पवन मिष्ठान्न भण्डार, हेल्थ पार्टनरमा सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. र इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, निलम इम्पोटर्स प्रा.लि., एडभान्स इन्टरनेशनल हस्पिटल र काशी नोबल एकेडेमी स्थानीय सहयोगीका रुपमा छन् । प्रतियोगितामा सहभागी खेलाडीहरुको एक लाख रुपैयाँ बराबरको बीमा गरिएको छ।
प्रतियोगितामा द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, पञ्चकन्या समूह, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, ब्ल्याक फरेष्ट, सिद्धार्थ यातायात बस व्यवसायी प्रा.लि., ई–ड्राइभ लुम्बिनी नेपाल प्रा.लि., विके ज्वेलर्स, सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि., आकाश कापी उद्योग, सारथी केबल इण्डष्ट्रिज लिमिटेड, अर्घाखाँची सिमेन्ट लिमिटेड, बुटवल ट्याक्सी सेवा प्रालि, कमर्सियल बैंक, वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि., ट्राभल नमस्ते प्रा.लि., भेल्भेट लक्स होटल, बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन रुपन्देही लुम्बिनी, एपीएफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, जिल्ला प्रहरी कार्यालय, रुपन्देही, युसीएमएस, अग्नी ग्रुप, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही, वल्र्डलिंक कम्युनिकेसन लिमिटेड, सिद्धार्थनगर नगरपालिका र लिटमस केबल इण्डष्ट्रिज लिमिटेडको सहभागीता हुने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा विजेता पुरस्कार रु.५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता पुरस्कार २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र छ । उत्कृष्ट खेलाडीले ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ४ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले ४ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । टीम दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
सामाजिक उत्तरदायित्वसहितका सञ्चारमाध्याम आजको आवश्यता भएको र सञ्चारमाध्यामको मूल जिम्मेवारी भनेकै समाजमा रहेका विभिन्न निकायलाई खबरदारीमार्फत जवाफदेही तुल्याउनु रहेको पब्लिक कुरा डटकमले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।
औद्योगिक नगरीमा रहेका ठूला व्यवसायिक प्रतिष्ठानको एकताबाट मात्रै उद्योगी–व्यवसायी र लगानीमैत्री नीति कायम गर्नका लागि दबाब सिर्जना गर्न सकिन्छ भने विश्वास पब्लिक कुरा डटकमले लिएको प्रधानसम्पादक माधव ढुंगानाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझी, पूर्वअध्यक्ष नरेश के.सी. लगायतले यस्ता प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
