२०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

फ्युचर लाइटमा कोरियन भाषा अध्ययनरत विद्यार्थीद्वारा अवलोकन भ्रमण

शुक्रवार , जेठ २२, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • भैरहवा, २२ जेठ । भैरहवास्थित फ्युचर लाइट इङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कूलका कोरियन भाषा अध्ययनरत विद्यार्थीहरू, शिक्षकहरू तथा प्रधानाध्यापक गम्भीर गुरुङसहित ४० सदस्यीय टोलीले नवलपरासीको रामग्रामस्थित विभिन्न उद्योगहरूको औद्योगिक तथा शैक्षिक अवलोकन भ्रमण गरेको छ ।

    भ्रमणका क्रममा टोलीले सामसुङ टिभी फ्याक्ट्री, हिम इलेक्ट्रोनिक्स, हिम स्टार तथा हुलास अटोक्राफ्ट लगायत उद्योगहरूको अवलोकन गरेको थियो । नेपालकै प्रतिष्ठित गोल्छा व्यवसायिक समूहद्वारा सञ्चालित यी उद्योगहरूमा विद्यार्थीहरूले उत्पादन प्रक्रिया, आधुनिक प्रविधिको प्रयोग, गुणस्तर व्यवस्थापन तथा औद्योगिक सञ्चालन प्रणालीबारे प्रत्यक्ष जानकारी प्राप्त गरेका थिए । साथै, एक मेगावाट क्षमताको सौर्य ऊर्जा केन्द्र, बेसार तथा कागती खेतीको पनि अवलोकन गरिएको थियो ।

    करिब ४० बिघा क्षेत्रफलमा फैलिएको औद्योगिक परिसरको अवलोकनपछि विद्यार्थीहरूले कक्षाकोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग भएको प्रत्यक्ष रूपमा हेर्न पाउँदा खुसी व्यक्त गरेका थिए । उद्योग, कृषि, ऊर्जा र प्रविधिको एकीकृत अभ्यासले विकासका विविध आयाम बुझ्न मद्दत पुगेको विद्यार्थीहरूको भनाइ थियो ।

    भ्रमणको प्रारम्भमा गोल्छा समूहका प्रशासक तथा सुरक्षा प्रमुख चन्द्रकुमार थापाले सहभागीहरूलाई स्वागत गर्दै समूहको इतिहास, उत्पादन प्रणाली, औद्योगिक अनुशासन तथा भविष्यका सम्भावनाबारे जानकारी गराउनुभएको थियो । साथै, कम्पनीका विभिन्न विभागका अधिकारीहरूले उद्योग सञ्चालनका व्यावहारिक पक्षहरूबारे विद्यार्थीहरूलाई जानकारी दिएका थिए ।

    भ्रमण समापन कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गम्भीर गुरुङले विद्यालयले विगत २७ वर्षदेखि गुणस्तरीय, व्यवहारिक तथा सीपमूलक शिक्षालाई प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँले समयको माग, विश्वव्यापी रोजगारीका अवसर तथा अन्तर्राष्ट्रिय शिक्षाको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयमा कक्षा ९ देखि कोरियन भाषा शिक्षण सुरु गरिएको जानकारी दिनुभयो । यस वर्ष पहिलोपटक विद्यालयका विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कोरियन भाषा विषय अध्ययन गरी सफलता हासिल गरेका छन् ।

    95882a10-4d48-4365-ae50-f9832c9aebbc.jpg

    नेपाल कोरिया रिटर्निज एसोसिएसनका अध्यक्षसमेत रहनुभएका गुरुङले दक्षिण कोरियामा ९ वर्ष काम गर्दाको अनुभव सुनाउँदै भाषा ज्ञानले व्यक्तिको क्षमता, अवसर र आत्मविश्वास बढाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘विद्यार्थीहरूले भाषा मात्र सिकेर पुग्दैन । सम्बन्धित देशको संस्कृति, संस्कार, अनुशासन, कार्यशैली र जीवनपद्धतिबारे पनि बुझ्न आवश्यक छ । त्यसैले हामीले कोरियन भाषा अध्ययनरत विद्यार्थीहरूलाई लुम्बिनीस्थित कोरियन गुम्बा, कोरियन रेष्टुरेण्ट, कोरियन समुदाय तथा कोरियाली प्रविधिसँग सम्बन्धित उद्योगहरूको अवलोकन गराउँदै आएका छौं । यसले भाषा सिकाइलाई अझ प्रभावकारी र व्यवहारिक बनाउँछ ।’

    प्रधानाध्यापक गुरुङले गोल्छा समूह र सामसुङबीचको दीर्घकालीन सम्बन्धको प्रशंसा गर्दै विगत २७ वर्षदेखि गोल्छा समूहले नेपालमा सामसुङका उत्पादनहरूको सफल बजार विस्तार गर्दै आएको स्मरण गर्नुभयो । उहाँले सामसुङजस्तो विश्वप्रसिद्ध कम्पनीले गोल्छा समूहलाई उत्पादनसमेत गर्न विश्वास गर्नु नेपाली उद्योग क्षेत्रका लागि गौरवको विषय भएको बताउनुभयो ।

    ‘फ्युचर लाइट विद्यालयले पनि २७ वर्षको शैक्षिक यात्रापछि कोरियन भाषा शिक्षाको नयाँ अध्याय सुरु गरेको छ भने गोल्छा समूहले २७ वर्षदेखि सामसुङसँगको विश्वासपूर्ण सहकार्यलाई निरन्तरता दिएको छ । यी दुई संस्थाको यात्राबीच रहेको यो सुखद संयोग हामी सबैका लागि प्रेरणाको स्रोत बनेको छ,’उहाँले भन्नुभयो ।

    उक्त अवसरमा विद्यालयका कोरियन भाषा प्रशिक्षक सूर्य गुरुङ, मनोसामाजिक परामर्शदाता तथा स्कुल काउन्सेलर डा. कौशलराज गौतम, विद्यालयका विद्यार्थी नेतृत्वकर्ता (क्याप्टेन) सधिक्षा कुँवर, जोन तामाङ, प्रिया थापा, शिक्षकवर्ग तथा विद्यार्थीहरूको सहभागीता थियो ।

    कार्यक्रमको अन्त्यमा प्रधानाध्यापक गुरुङले गोल्छा समूहका सम्पूर्ण अधिकारी तथा कर्मचारीहरूप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्ता औद्योगिक तथा शैक्षिक भ्रमणले विद्यार्थीहरूमा व्यावहारिक ज्ञान, कार्यअनुशासन, नेतृत्व क्षमता तथा अन्तर्राष्ट्रिय दृष्टिकोणको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई भविष्यको अध्ययन, रोजगारी र करियर निर्माणका लागि आवश्यक सीप तथा अनुभव प्रदान गर्ने भएकाले आगामी दिनमा पनि यस्ता अवलोकन भ्रमणलाई निरन्तरता दिइनेछ ।