शनिवार , जेठ २३, २०८३
बुटवल, २३ जेठ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शुक्रबार ‘फेरी भेटौला’ कार्यक्रम सम्पन्न भएको छ । अस्पताल विकास समितिका सदस्य लक्ष्मी भट्टराईले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी विदा हुनुभएकोमा उहाँलाई अस्पताल परिवारले सम्मानसहित शुभकामना व्यक्त गरेको हो ।
सो अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले कुनै पनि संस्थामा नेतृत्व आउने जाने क्रम चलिरहने भए पनि संस्थामा छोडेर जाने पदचाप सधै जीवित रहने उल्लेख गर्नुभयो । उहाँले अस्पताल विकास समितिले गर्ने हरेक निर्णयहरुमा विवेकपूर्ण र दूरदर्शी सुझाव तथा प्रस्तावहरु ल्याउन सक्ने क्षमताको प्रशंसा गर्नुभयो । अध्यक्ष श्रेष्ठले सदस्यबाट विदा हुनुभएकी भट्टराईलाई आगामी यात्रामा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । अस्पतालको सेवा विस्तार तथा गुणस्तर वृद्धिको पक्षमा विकास समिति सधै सचेत र कटिबद्ध भएको बताउँदै उहाँले सोहीअनुसार चिकित्सक, कर्मचारी तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई जिम्मेवार भएर सेवामा लाग्न आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै निवर्तमान सदस्य भट्टराईले आफू संस्थाको नेतृत्वमा नरहँदा पनि अस्पतालको विकासका लागि सधै चासो र निगरानी जारी रहने उल्लेख गर्नुभयो । उहाँले तीन वर्षको अवधिमा अस्पतालभित्र रहेका धेरै समस्या, चुनौति तथा सम्भावनाहरुबारे जानकार हुन पाएको बताउनुभयो । उहाँले जनअपेक्षाअनुसार सेवालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
अस्पतालकी नवनियुक्त सदस्य उमादेवी ढकाल (कल्पना) ले निवर्तमान सदस्य भट्टराईलाई विदाई गर्दै अग्रजहरुको अनुभव र सुझावलाई मनन् गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अस्पताल प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. विष्णु प्रसाद गौतमले स्वास्थ्य सेवा प्रभावहलाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने सवामाल अस्पताल विकास समितिको महत्वपूर्ण योगदा रहेको चर्चा गर्नुभयो । अस्पतालमा रहेर आफूले विगत दुई दशकदेखि सेवा प्रदान गर्दाको अनुभव र नेतृत्वमा आएपछि भेटिएका चुनौतिहरुको सामना गर्दै जाँदा बिकास समितिको महत्वलाई थप नजिकबाट बुझ्ने मौका पाएको उहाँले बताउनुभयो । अस्पतालमा विशेषज्ञ सेवाहरु थपिँदै जानुका साथै जनअपेक्षा पनि चुलिँदो भएकाले अस्पतालको क्षमता र सेवाग्राहीको चापलाई व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उहाँले उल्लेख गर्नुभयो ।
अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमको सञ्चालनमा आयोजित कार्यक्रममा विभागीय प्रमुखहरुको समेत सहभागीता थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
