शनिवार , जेठ २३, २०८३
तिलोत्तमा, २३ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० बेवरीमा अवस्थित श्री नमुना इङ्लिस बोर्डिङ्ग स्कूलका विद्यार्थी तथा शिक्षकशिक्षिका र कर्मचारीहरुका लागि एकदिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
रोटरी क्लब अफ भैरहवाको आयोजना, नेपाल नेत्र ज्योति संघ रुपन्देही एवं लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा ७ सय जना बढीको आँखा परीक्षण गरिएकोमा ४८ जनामा आँखासम्बन्धी कमजोरी (दृष्टीदोष) देखिएको थियो। जसमध्ये १२ जना पहिले नै आँखा उपचारमा संलग्न रही उपचार गराइरहेका थिए । त्यस्तै आँखाको डेढोपन ३ जनामा, रेटिनामा समस्या १ जनामा, आँखाको (एलर्जी) सुक्खापन २ जना र आँसुको नलीमा बन्द भएको १ जना बिरामी भेटिएका थिए ।
दृष्टीदोष देखिएका विद्यार्थीहरुका लागि ३ दिनभित्र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पतालमा सहुलियत वा निःशुल्करुपमा उपचारको व्यवस्था गरिने अस्पतालका वरिष्ठ नेत्र अधिकृत तथा अस्पतालका बाह्य कार्यक्रम संयोजक संजीव अधिकारीले जानकारी दिनुभयो ।
रोटरी क्लब अफ भैहरवाका अध्यक्ष रोटरियन कमल कोइरालाको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुम बहादुर बयंबुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका उद्घाटन सत्रमा अध्यक्ष कोइरालाले आँखा रोगसम्बन्धी जानकारी, यसको हेरचाह र मानिसको जीवनमा आँखाको महत्वका विषयमा प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बयम्बुले रोटरी क्लबले जहिले पनि मानवसेवामा कार्य गर्ने भएकाले सो कार्यको समाजले उच्च मुल्यांकन गरेको बताउनुभयो । उहाँले आँखा शिविरका लागि यस विद्यालयलाई छनौट गरेको धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता खालका राम्रा र सकारात्मक सहयोगको अपेक्षा समेत रहेको बताउनुभयो ।
कार्यक्रम संयोजक रोटरियन पवन पौडेलको स्वागत तथा विद्यालयका शिक्षक नारायणप्रसाद कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
